
काठमाडौं: फ्राइडे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म 'काल' र 'मेरो देश' आजबाट प्रदर्शनमा आएको हो।
बिएस बलामीको निर्देशनमा बनेको फिल्म 'काल' नेपाली र हिन्दी दुई भाषामा तयार गरिएको भन्दा प्रचार भएको थियो। फिल्म बनेको दुई वर्षपछि नेपाली भाषामा मात्र फिल्म सार्वजनिक भएको छ।
राजेन्द्र गौतम निर्मित फिल्ममा आदित्य श्रेष्ठ, धुव्र कोईराला, सपना केसी, पुरण थापा लगायतको अभिनय रहेको छ।
प्रेमकथा बोल्ने फिल्ममा राजेश कुमारको गीत, संगीत, निशा शाहको नृत्य र देव महर्जनको द्वन्द्व रहेको छ। फिल्मले सिंगल थिएटरमा मात्र शो पाएको छ।
निशा अधिकारी र आयुष रिजालको मुख्य अभिनय रहेको फिल्म 'मेरो देश'ले पनि सिंगल स्क्रिनमा मात्र शो पाएको छ। देव नेपाल निर्देशित फिल्मको केन्द्रमा देशप्रेम झल्कने निर्माण युनिटको दाबि छ।
प्रजातन्त्र दिवस लक्षित भन्दै प्रचार गरिएको फिल्मलाई उदय सापकोटाले निर्माण गरेका हुन्। फिल्ममा निर शाह, प्रज्वल अधिकारी, धुव्र कोईराला आदिको मुख्य भूमिका रहेको छ।
मल्टिप्लेक्सका लागि नेपाली फिल्म 'डाइङ क्यान्डल'को सिमित शो बाँकी छन्।
बलिउड तर्फ भने आज नेपालको लागि कुनै फिल्म रिलिज भएनन्। काबिल र गत हप्ता प्रदर्शनमा आएको 'जोली एलएलबी २' मल्टिप्लेक्समा अझै प्रदर्शनरत छन्।
हलिउडका लागि 'द लेगो ब्याट्सम्यान'ले नेपालका केही हलमा शो पाएको छ। क्रिस म्याकके निर्देशित फिल्मले समिक्षात्मक रुपमा राम्रो प्रतिक्रिया भने पाएको छैन।
हलिउडकै फिल्म 'रिङ्स' पनि अझै केही हलबाट उत्रिएका छैनन्।