PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पत्रकार महासङ्घ इलाम शाखामा तालाबन्दी, महासंघ केन्द्रमा लागेको ताला खुल्यो



पहिलोपोस्ट

पत्रकार महासङ्घ इलाम शाखामा तालाबन्दी, महासंघ केन्द्रमा लागेको ताला खुल्यो

इलाम : नेपाल पत्रकार महासङ्घले विधानविपरीत काम गरेको आरोप लगाउँदै नेपाल प्रेस युनियन र सङ्घीय प्रेस फोरमले बिहीबार नेपाल पत्रकार महासङ्घ इलाम शाखा कार्यालयमा तालाबन्दी गरेका छन्।

इलाम शाखाको अधिवेशन फागुन ७ का लागि तोकिएको परिप्रेक्ष्यमा नेपाल पत्रकार महासङ्घको विधान २०६० (चौथो संशोधन २०७३ सहित) को धारा ५ को सदस्यता प्राप्त गर्ने कार्यविधि अन्तर्गत उपधारा ८ मा ‘नयाँ सदस्यता स्वीकृति, अनुमोदन, स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा ६ महिना पहिला भइसक्नु पर्ने उल्लेख भए पनि महासङ्घ सो विधानविपरीत चलेको आरोप लगाउँदै युनियन र प्रेस फोरमले तालाबन्दी गरेका हुन्।


महासङ्घ इलाम जिल्ला शाखाको फागुन ७ मा हुने भनिएको अधिवेशन विधान अनुसार नयाँ सदस्य स्वीकृति अनुमोदन र स्थानान्तरणको सूचीसमेत नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयले इलाम शाखामा फागुन ५ गतेसम्म पनि पठाउन नसकेको र सदस्यताको सूची माग गर्दा शाखाले उपलब्ध गराउन नसकेकाले तालाबन्दी गरिएको प्रेस युनियनका अध्यक्ष तोयानाथ भट्टराईले बताए।
 
तालाबन्दीपछि महासङ्घ इलाम शाखाको चुनाव अन्यौल उत्पन्न भएको छ। तालाबन्दी खुलाउन शुक्रवार बिहानैदेखि पत्रकार महासङ्घ इलाम शाखा र आन्दोलनरत पक्षबीच वार्ता भए पनि हालसम्म कुनै सहमति हुन नसकेको महासङ्घ जिल्ला कार्यसमिति इलामका सदस्य बलराम बराइलीले जानकारी दिए।

केन्द्रमा लागेको ताला खुल्यो

गैर पत्रकारलाई सदस्यता दिएको भन्दै प्रेस युनियनले चार दिन अगाडि महासंघको केन्द्रमा लगाएको ताला शुक्रबार खुलेको छ। युनियनले उठाएको सदस्यता सम्बन्धि विवादमा समाधान गर्न राजिहुँदै महासंघले विज्ञप्ति निकाल्न सहमती भएपछि शुक्रबार ताला खुलेको हो।

महासंघका अध्यक्ष महेन्द्र विष्ट र युनियन अध्यक्ष बद्री सिग्देलविच भएको २ बुँदे सहमतीमा युनियनले उठाएको विषय सम्बोधन गरेर महासंघले विज्ञप्ति निकाल्ने र युनियनले तत्काल ताला खोल्ने उल्लेख छ। सो सहमतीपछि महासंघका महासचिव उजिर मगरले विज्ञप्ति निकालेर सदस्यता सम्बन्धि विवाद देखिएका जिल्लामा सहमतीको आधारमा महासंघ सचिवालयले टुंगो लगाउने उल्लेख छ।

नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्युठान, जाजरकोट, सिरहा, सप्तरी, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर र भक्तपुरमा सदस्यता विवाद कायमै छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell