PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

चन्दा दिएर राष्ट्रपतिबाट राजनीतिक लाभ लिएको आरोपमा सामसुङका प्रमुख पक्राउ



पहिलोपोस्ट

चन्दा दिएर राष्ट्रपतिबाट राजनीतिक लाभ लिएको आरोपमा सामसुङका प्रमुख पक्राउ

सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दक्षिण कोरियाको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा जोडिएका उनलार्इ पक्राउ गर्नेबारेमा टुंगो लगाउन उनी बिरुद्ध दुर्इ पटक सम्म उच्च अदालतमा सुनुवाइ भएको थियो ।  

लिको फर्मले राष्ट्रपति पार्क ग्यून हेको निकटका ब्यक्तिको गैरनाफामुखी संस्थाहरुमा चन्दा दिएर राजनीतिक लाभ लिएको आरोप लागेको छ । लि माथि ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लागेको छ ।

केही हप्ता अघि देखि भैरहेको अनुसन्धानका क्रममा फेरि बयान लिनका लागि केही नयाँ अवस्थाहरु देखा परेको भन्दै उनलार्इ बयानका लागि गत हप्तामात्रै दोस्रोपटक अदालतमा डाकिएको थियो ।

उपाध्यक्ष पदमा रहेपनि सामसुङका प्रमुखका रुपमा कार्यरत लिलार्इ यसअघि जनवरीमा पनि अरु कम्पनीका केहि प्रमुखहरुसँग सोधपुछका लागि अदालत लगिएको थियो । यसअघिको सुनुवाइमा अदालते पक्राउको लागि पर्याप्त आधार नभएको भनेको थियो ।

इलेक्ट्रोनिक जायन्ट सामसुङ र उपाध्यक्ष लि ले भने आफूले केही गलत काम नगरेको दावी गर्दै आएको छ । शुक्रवार अदालतले लिको पक्राउ आवश्यक भएको भन्दै पक्राउको आदेश दिएको हो । उनलार्इ पक्राउ गरी आगामी २० दिनसम्म अनुसन्धान गरिने बताइएको छ ।

४८ वर्षका लि सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष हुन् । उनले आफ्ना पिता लि कुन हिको उत्तराधिकारीको रुपमा सन् २०१४ देखि सामसुङकव प्रमुखको हैसियतमा काम गर्दै आएका थिए । पिता हिलार्इ हार्ट एट्याक् भएपछि उनले कम्पनीको बागडोर सम्हाल्दै आएका छन् ।
उनी सामसुङका संस्थापक लि ब्योङ चु का नाती र अध्यक्ष लि कुन हिका छोरा हुन् । उनले आफ्नो सम्पूर्ण ध्यान कम्पनीको स्तर बढाउनमा लगाउँदै आएका थिए ।

लिको पक्राउले सामसुङको उत्पादनमा तत्काल कुनै असर नदेखिएपनि दिर्घकालीन परियोजनाहरुलार्इ भने यसले असर गर्ने बताइएको छ ।

विश्वकै अग्रणी इलेक्ट्रोनिक्सको रुपमा स्थापित सामसुङ इलेक्ट्रोनिक्सको ब्राण्ड इमेजमा भने भ्रष्टाचारको यस स्क्यान्डलले ठूलो धक्का लागेको विश्लेषण हुन थालेको छ । पक्राउको खबर लगत्तै शेयर बजारमा सामसुङको शेयरमा गिरावट आएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell