- शुरबहादुर सिंह
बालोनाच, चोपाई, ढाल, खाँडो, भैलीजस्ता संस्कृति भने सुनिनै छाडेको उनीहरु बताउँछन्।
यस्ता संस्कृतिमा नयाँ पुस्ताको चासो नहुँदा लोप भएर जाने हुन् कि भन्ने चिन्ता भएको कुडारी–५ जुम्लाका ८३ वर्षीय रणबहादुर शाहीले बताए। 'संस्कृति–हाम्रो मौलिकता र पहिचान हो, यसले हाम्रो अस्तित्व राखेको छ, तर यसमा ध्यान नदिएर नयाँ पुस्ताले बाहिरको लाजमर्दो संस्कृति भित्र्याएको देख्दा दुःख लाग्छ', – शाहीले भने। आफू बूढो भइसकेँ तर कसैले पनि हाम्रो कला र संस्कृतिको जगेर्ना गर्न खुलेर नलागेकामा भित्रैदेखि पिरोलिएर आउँछ।
कर्णालीका संस्कृति विज्ञ रमानन्द आचार्यले हिँजोसम्म यो ठाउँ कला, संस्कृति र साहित्यमा निकै धनी थियो। उनी भन्छन्, 'कर्णालीको स्थापत्य र वास्तुकलाको विकास गण्डक कान्तिपुर पाटनसम्म पुगेको हाम्रा ताम्रपत्र, शिलालेखमा उल्लेख छ, तर यिनलाई प्रकाशमा ल्याउन नसक्दा यहाँको खस कला, संस्कृति पछिल्लो समय हराउन थालेको हो।'
'यहाँको कला, संस्कृति र साहित्यबाट मुलुकको विकास हुनुमा खस साम्राज्य कालको महत्वपूर्ण भूमिका छ भन्न बिर्सेका छौँ र कर्णालीवासीले साधना गर्न बिर्सेकाले यो लोपोन्मुख अवस्थामा गएको हो' उनले भने, 'त्यतिबेला जातीयताका आधारमा नर्तकीहरु नाच्ने, तिब्बतीयन सुन्दरीहरु आउने, गाइने, वादी, भाँडहरुले मनाउने संस्कार पनि थियो। तर अहिले पूर्णरुपले हराउँदै गएको छ।'
पश्चिम नेपालले ठाडो भाकाको रुपमा रहेको देउडाबाटै सवाल जवाफ गर्न सकिने हाम्रा गायनशैलीको अनुकरण भएको छ तर हामीले देउडालाई वाद्यवादन र सङ्गीतमा ढालेर सार्वजनिक रुपमा उठान, प्रचारप्रसार एवम् व्यापक बनाउँदै लैजान नसकेकाले लोप हुने अवस्था आएको विज्ञ आचार्यले जानकारी दिए।
अहिलेका पप र रफ गीतले यहाँको मौलिकता हराउँदै गएको टिप्पणी गर्दै स्थानीय देउडा गायिका विमला शाही भन्छिन्, 'देउडाले यहाँको भूमि र नागरिकको जीवन कथा केलाउँछ, वास्तविकता ओकल्छ र पहिचान देखाउँछ तर पनि यसलाई बचाउनुपर्छ भन्ने चासो नवपुस्तामा देखिएको छैन। यहाँको साहित्य, कला, भाषा र संस्कृति बचाउन सरकारी पहल हुनुपर्नेमा गायिका शाहीको जोड छ।
आयातित संस्कृतिको सिको गर्ने नयाँ पुस्ताका कारण कर्णालीको संस्कृति हराएको हो भन्छिन् समावेशी महिला सञ्जाल जुम्लाकी अध्यक्ष लक्ष्मीकन्या बुढा। यहाँको कला, संस्कृति, साहित्य र भाषाको संरक्षण एवम् प्रवर्द्धनतर्फ नलागे भावी दिनमा यसको अवशेष भेटाउन पनि गाह्रो हुने उनको भनाइ छ।
गोरखा दरबारलाई उच्च संरक्षण दिएर शाह वंशावलीको इतिहास उत्खनन गर्ने राज्यले कर्णालीको खस राजाहरु, यहाँको कला, संस्कृति, रीतिरिवाज, भेषभूषाको पहिचान गरी तिनको संरक्षणमा दायित्वबोध नगरेको अध्यक्ष बुढाको आरोप छ।
स्थानीय देउडा गायक खडानन्द चौलागार्इंले भाषा, संस्कृति र कलाको धनी कर्णालीको वास्तविक पहिचान जोगाउन सबै क्षेत्रबाट अभियान थालिएको बताए। उनले भने, 'यहाँका विभिन्न विधाको संरक्षण र प्रवर्द्धनका लागि साल बसाली सांस्कृतिक महोत्सव लगाउँछौँ र सिङ्गो कर्णाली क्षेत्रलाई ओगट्ने कला केन्द्र स्थापना गरी त्यसको संस्थागत विकासमा लाग्छौँ।'
कर्णाली कला, साहित्य र संस्कृतिको धनी मात्र नभई मुलुकको राष्ट्रभाषाको जननी पनि भएकाले जिल्लाका संस्कृति, भाषा, कला र साहित्यप्रेमी युवालाई भेला गरी यिनको पहिचान, संरक्षण र प्रवद्र्धनका लागि नीतिगत रुपमा अघि बढ्ने योजना बनाइएको गायक चौलागाईले जानकारी दिए।