- हरि लामिछाने/सुशील दर्नाल
एक्काइसौँ शताब्दीको पहिलो दुई दशक पूरा भएसँगै समाचारको परिभाषा बदलिएको छ। सोसल मिडियाको समयमा संसारमा जे होस्, १५ मिनेट वा १५ सेकेन्डभन्दा अगाडि वास्तविक जानकारी चाहियो। समय सीमामा समाचार साँघुरियो। तर, घटना आफैँमा समाचार होइन, समाचार हुन प्रणालीमा परिवर्तन आउनुपर्छ। नियमिततामा क्रमभङ्ग भएमात्र समाचार बन्छ भन्ने मान्यता पनि समयसँग ठोकिन थालेको छ।
यो मान्यतालाई आत्मसात् गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) ग्राहकमैत्री विषयवस्तु उत्पादन गर्न र त्यसलाई जतिसक्दो चाँडो सम्प्रेषण गर्न प्रतिबद्ध देखिएको छ। राससले ५६ औँ वर्षमा प्रवेश गर्दै गर्दा यसको सेवा स्तरीय एवम् विश्वसनीयता बढ्दै गएको देखिन्छ।
वि.सं २०७० मङ्सिर ५ गतेदेखि राससले न्यूजलाइन सेवा प्रारम्भ गरी समाचार प्राप्त भएलगत्तै सम्पादन शाखाबाट अनलाइन न्यूजलाइन प्रणालीमा समाचार सम्प्रेषण गर्दै आएको छ। यस सेवाबाट एफएम रेडियो र अनलाइन सञ्चारमाध्यम प्रत्यक्ष लाभान्वित भएका छन्। बदलिँदो ‘कन्भर्जेन्स’ विश्वलाई पछ्याउँदै गरेको नेपालका सञ्चार गृहलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले छापा तथा विद्युतीय सञ्चारमाध्यमलाई समेटेर विषयवस्तु दिने र राससलाई समयसापेक्ष सक्षम बनाउन पहल गर्ने बताए। उनले ५६ औँ वार्षिकोत्सवपछि राससले विषयवस्तुमा थप स्तरीयता र विविधतालाई अबको यात्रा बनाउने बताए।
विश्वमा समाचार समितिको प्रचलन सुरु भएको करिब १२५ वर्षपछि नेपालमा आएको समाचार समितिको अवधारणाको महत्व अझै उँचो भएको छ। नेपालजस्तो भौगोलिक एवम् सानो अर्थतन्त्र भएको मुलुकका सञ्चारमाध्यमले आफ्नै हरेक स्थान तथा क्षेत्रमा समाचारदाता राख्ने अवस्थामा समाचार समितिको भूमिका अझै महत्वपूर्ण बन्दै गएको राससका अध्यक्ष वाग्ले बताउँछन्।
राससको इतिहासलाई फर्केर हेर्दा समाचार समितिको आवश्यकताबारे पहिलोपटक २०१५ सालको प्रेस कमिसन प्रतिवेदनमा उल्लेख गरिएको थियो। प्रतिवेदनबाट प्रेरित भएर नेपालमा पहिलो समाचार समिति २०१६ पुस १ गते नेपाल संवाद समिति (नेसस) स्थापना भएको थियो। नेसस स्थापना भएको पाँच महिनापछि निजी क्षेत्रबाट दोस्रो समाचार समितिका रूपमा २०१७ वैशाख ३० गते सगरमाथा संवाद समिति (ससस) स्थापना भएको थियो।
निजी क्षेत्रका समाचार समितिहरू नेसस र ससस दुवै समाचार समितिलाई एकीकरण गरी राज्य सञ्चालित संस्थाका रूपमा २०१८ फागुन ७ गते राससको विधिवत् स्थापना भएको थियो। प्रारम्भमा अस्थायी समितिको रूपमा कार्य आरम्भ गरेको राससले २०१९ मङ्सिरमा ऐन आएपछि पूर्णता प्राप्त गरेको थियो। राष्ट्रिय संवाद समिति ऐन, २०१९ लाई २०२८ सालमा पहिलो संशोधनपछि ‘संवाद’ शब्दको सट्टा ‘समाचार’ प्रयोग गरी यस संस्थालाई राष्ट्रिय समाचार समितिको नाम दिइएको हो।
काठमाडौँको खिचापोखरीस्थित एक निजी घरबाट सेवा प्रारम्भ गरेको राससले सुरुका दिनहरूमा गौँडा गोश्वाराबाट आएका सूचनाका आधारमा बाढी, पहिरो, आगलागी, महामारीका घटना र विभिन्न जिल्लाबाट राजधानी आउने यात्रीहरूसँग सोधपुछ गर्दै खबर सङ्कलन गरी टाइपिङ गरी लिथो मेसिनद्वारा बुलेटिन निकालेर वितरण गर्ने गरेको थियो।
हाल राससमा स्थायी, करार र स्थानीय समाचारदाता गरी करिब ३०० कर्मचारी तथा पत्रकार कार्यरत छन्। राससले वार्षिक ६० हजारभन्दा बढी समाचार सामग्री उत्पादन गरेर आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ।
राससले देशभरबाट र विदेशस्थित विभिन्न स्थानमा रहेका प्रतिनिधिबाट सङ्कलित समाचार नेपाली र अङ्ग्रेजीमा पस्कँदै आएको छ भने भू–उपग्रहका माध्यमबाट एपी, एएफपी, सिन्ह्वा, पिटिआई, क्योदो, एपिपी, बिएसएसजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाबाट प्राप्त समाचारसमेत आफ्नो अन्तर्राष्ट्रिय सेवाअन्तर्गत सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ। हाल यसले प्रोजेक्ट सिन्डिकेटको सामग्री पनि प्रदान गर्न थालेको छ।
राससले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो सेवाका साथै श्रव्य सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ। राससले कम्प्युटर नेटवर्कमार्फत छापा, रेडियो, टेलिभिजन र अनलाइनलगायत राष्ट्रिय र मोफसलका समाचारपत्रलाई समाचार, तस्बिर र श्रव्य सामग्री मुलुकभरका २०० सञ्चारमाध्यमलाई सेवा दिँदै आएको छ।
प्रारम्भमा राससको समाचार बुलेटिन दिनमा एकपटक मात्र प्रकाशन भएपनि पछि एक दिनमै पटकपटक प्रकाशन हुन थाल्यो। धेरै वर्षसम्म बिहान, मध्याह्न, अपराह्न, साँझ र राति गरी पाँच पटकसम्म समाचार बुलेटिन प्रकाशन हुन थाल्यो।
वि.सं २०६३ कात्तिक १ गतेदेखि राससले हरेक दिन बिहान ६:३० देखि राति १०:३० सम्म एक–एक घन्टाको अन्तरमा दिनमा १७ पटकसम्म समाचार बुलेटिन प्रकाशन गर्दै आएको थियो। पहिला समाचार बुलेटिनहरू टाइपराइटरबाट स्टेनसिल पेपरमा टाइप गरी लिथो मेसिनबाट मुद्रण गरेर वितरण गरिए पनि २०५२ सालदेखि कम्प्युटर प्रविधिमा प्रवेश गरेको थियो। राससले बेलाबखतमा आलेख समाचार दिने गरे पनि २०५५ साल वैशाखदेखि त्यसलाई थप व्यवस्थित गरेको थियो।
वि.सं २०७० मङ्सिर ५ गतेदेखि रासस न्यूजलाइन सेवामा प्रवेश गरेदेखि बिहान ६:०० देखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सम्प्रेषण गर्दै आइरहेको छ। हाल यसले ‘न्यूजलाइन’ सेवाअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका ग्राहक रहेका सबै प्रकारका सञ्चारमाध्यमलाई समाचार सेवा दिँदै आएको छ।
राससको स्थापना भएदेखि मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भयो, तर राससको विश्वसनीयतामा कुनै कमी आएको छैन, बरु सबैको विचारलाई स्थान दिँदै साझा समाचार केन्द्रको रुपमा आफ्नो पहिचानलाई स्थापित गर्न सफल भएको छ। विश्वव्यापीकरणसँगै समाजका हरेक क्षेत्रमा आएको परिवर्तनबाट समाचार समिति पनि अछुतो रहँदैन। समाचार समितिले राज्य, समिति र ग्राहकबीचको त्रिपक्षीय सम्बन्धका विषयमा नयाँ परिभाषा खोज्न आवश्यक छ।
समाचार समितिले सञ्चार गृहको आवश्यकतालाई पूरा गर्न सके कि सकेनन् भन्ने गहन प्रश्नसँग मुकाबिला गर्न जरुरी छ, यो प्रश्न निरन्तर कायम रहन्छ। समाचार उपलब्ध गराएपछि भुक्तानीको मापदण्डका साथै समाचार समितिले नयाँ प्रविधिको प्रयोग वा प्रविधिमैत्री कसरी हुन्छ भन्ने महत्वपूर्ण बन्दै गएको छ। अध्यक्ष वाग्लेले राज्य, समाचार समिति, सेवाग्राही र जनतासँग सन्तुलन मिएर आगामी दिनमा राससले आफ्ना क्रियाकलापलाई विश्वसनीय आधारमा अगाडि बढाउने विश्वास दिलाए।
राससले फेरिएको समयमा आफ्नो भूमिका निर्वाह गर्नका निम्ति अझ बढी जागरुक हुन जरुरी भएको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको सुझाव छ। उनी भन्छन्, 'अरुले नओगटेको स्थान राससले लिनुपर्छ। राससले केन्द्रको मात्र होइन किनाराको, गाउँ र दूरदराजको खबर ल्याउनुपर्छ। सकारात्मक र जनसरोकार राख्ने गुनिला खबर दिनुपर्छ।'