भक्तपुर : स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गरेका छन्।
कार्यक्रममा उनले आम नागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन्।
भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गर्दै मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुविधा सम्पन्न बनाउने तयारी भइरहेको बताए।
उनले भने, 'सरकारी अस्पताललाई सुदृढ र तिनको सेवा विस्तार गर्दै नागरिकलाई स्वेच्छाले उपचारका लागि सरकारी अस्पताल आउन आकर्षित गर्ने गरी मन्त्रालयले काम गरिहेको छ।' स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र यसमा सबैको पहुँच पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको बताउँदै उनले अहिलेको बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालमा छिटो औषधि पुर्याउन पहल भइरहेको बताए।
नेपालमै पहिलोपटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेर नेपालले स्वास्थ्य क्षेत्रमा केन्द्रले ठूलो उपलब्धि हासिल गरेको बताउँदै उनले सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए।
कानुनले अब मष्तिस्क मृत्यु भएका व्यक्तिबाट सातवटा अङ्गदान दिन तथा लिन मिल्ने व्यवस्था भइसकेको चर्चा गर्दै मन्त्री थापाले त्यसका लागि आमनागरिकमा जनचेतना जगाउन आवश्यक भएको औँल्याए।
केन्द्रलाई स्थान अभाव भएको सन्दर्भमा नेपाल ट्रस्टको जमिन केन्द्रलाई उपलब्ध गराउनका लागि मन्त्रालयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मन्त्री थापाले बताए।