काठमाडौं : विज्ञप्तिमार्फत देश जोगाउन आन्दोलनमा उत्रिन आव्हान गर्दा सरकारको आलोचनामा पर्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाहले ६७ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्या पारेर विज्ञप्ति निकालेका छन्।
प्रजातन्त्र दिवसमा आएको उनको विज्ञप्ति यस अगाडिको भन्दा निक्कै नरम छ। उनले घुमाउरा शब्दको प्रयोग गर्दै राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्ने उल्लेख गरेका छन्।
शाहले यस अगाडि विना प्रसंग विज्ञप्ति निकालेर राजनीतिक दल र राजनीतिक प्रणालीमाथी तिखो प्रहार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, र गृहमन्त्रि बिमलेन्द्र निधीले उनीमाथी कारवाही गर्ने दावी गरेका थिए। दरवार हत्याकाण्डको पुन अनुसन्धान गर्ने सरकारले दावी गरे पनि अगाडि बढेन।
शाहको विज्ञप्ति
नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,
६७ औं प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सवैको स्मरण गर्न चाहन्छु ।
प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होईन मानवीय हक र हितकोे आधार स्तम्भ पनि हो । प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्दछन्, तर जूनसूकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।
राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नु पर्दछ । हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो ।
किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सुखानुभुति गर्नू नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफुले आफैलाई प्रश्न गर्नुपर्ने घडी आएको छ ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।