विराटनगर : अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ५१ किलो चरेससहित पाँच जना पक्राउ परेका छन्। प्रहरीले विराटनगरको एक होटलबाट बिहीबार अपराह्न ५१ किलो ४ सय ग्राम चरेससहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्ने १८ को राम गुरुङ, वर्ष १७ को अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने वर्ष १८ को मिलन राउत चरेस सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
उनीहरुले चार वटा चरेसको प्याकेट बनाएर सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेका थिए। काठमाडौँबाट चरेससहित बिहीबार यहाँ आएका उनीहरु एक होटलमा बसेका थिए।
बिहीबार उनीहरु जोगबनी भएर भारतको कोलकत्ता जाने तयारीमा रहेको र सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताए।
उनीहरुको साथबाट रेलको टिकट, पाँच वटा मोबाइल, १४ हजार ४ सय भारतीय रुपैंया र बस चढेर काठमाडौँबाट विराटनगर आएका पाँच थान टिकट बरामद गरिएको छ।
फेला परेको चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो ३० देखि ४० हजार रुपैंया र भारतीय बजारमा प्रतिकिलो ६० देखि ७० हजार रुपैंया र जापानमा प्रतिकिलो तीन लाखभन्दा बढी पर्ने भण्डारीले दावी गरे।
उनीहरुमाथि आजै लागुपदार्थ ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ।
यसअघि, गत पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकत्ता बस्ने वर्ष २५ को शेख रिमादलाई तीन किलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरिएको थियो।