PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राप्रपा एकता महाधिवेशनका एघार रोचक दृश्य



पहिलोपोस्ट

राप्रपा एकता महाधिवेशनका एघार रोचक दृश्य

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा सुरु भएको छ। राजधानीको प्रदर्शनीमार्गमा भएको उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरुले संसदको चौथो ठूलो शक्ति राप्रपालाई शुभकामना मात्र दिएनन् आफ्नो पक्षमा पार्ने प्रयत्न पनि गरे। संविधान संशोधनका लागि आवश्यक दुई तिहाईको गणितका लागि पक्षमा वा विपक्षमा खडा हुने भन्ने स्पष्ट नगरेको राप्रपालाई विपक्षी एमाले र सत्तापक्ष माओवादी केन्द्र र कांग्रेसले फकाउने प्रयास गरे। महाधिवेशनको उद्घाटन समारोहका दृश्य
 

१) प्रचण्ड, देउवा र ओलीलाई दुबोको माला

राप्रपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दुबोको मालाको व्यवस्था गरेको थियो। त्यसो त हृदयेश त्रिपाठी र लक्ष्मणलाल कर्णले पनि दुबोको माला पाए। तर विजय गच्छदारले भने केवल फूलको माला पाए। भारतीय नेताहरुले दुबोको माला पाए पनि राप्रपाका नेताहरुले भने न दुबोको माला लगाए न त खादा नै। उनीहरुले ब्याच समेत लगाएका थिएनन्। 

 

२) प्रचण्डले भने - राप्रपा भनेपछि कता-कता नजिक-नजिक जस्तो लाग्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममा ढिला पुगेका थिए। रोल्पा र नवलपरासीको कार्यक्रम सकेर प्रचण्ड पाँच बजे उद्घाटन कार्यक्रममा पुगेका थिए। उनले पनि आफू ढिला आउँदा पनि राप्रपा कार्यकर्ता बसेको देखेर खुसी लागेको बताए। प्रचण्ड राप्रपा फकाउन यत्तिमा रोकिएनन्। उनले थप्दै भने - 'म कम्युनिष्ट युद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर। तपाँइहरुसँग सैद्धान्तिक मतभेद छ। तर राप्रपा भनेपछि कता कता नजिक नजिक जस्तो लाग्छ। मिलौँ मिलौँ लाग्छ। कता हो कता भावनाले छुन्छ। टाढा नजानुहोला।'

 

३) देउवा-ओली जुहारी : राप्रपाको चुनौती कसलाई?

राप्रपाको महाधिवेशनको उद्घाटनमा देउवा र ओलीको जुहारी चल्यो। देउवा भन्दा अगाडि बोलेका ओलीले राप्रपाले एमाले बाहेकका शक्तिलाइ धक्का दिन सक्ने बताए। उनले कांग्रेस प्रति लक्षित गर्दै होसियार रहन सुझाए। महाभियोग र संविधान संशोधनमा स्पष्ट हुन नसकेको व्यङ्ग कांग्रेसलाई गरे। लगत्तै भाषण गर्न आएका देउवाले ओलीलाई व्यङ्ग गर्न भ्याए। उनले भने – 'होस् गर्नुस् है ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापामा आएको छ। उहाँले होस गरे हुन्छ।' नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा हो भने उनी त्यहाँबाट निर्वाचित नेता हुन्।


 

४) कमल थापाको व्यङ्ग्य कि सुझाव, झुक्किए प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोभ्याउने प्रयास गरेपछि महाधिवेशन समारोहमा राप्रपाका अध्यक्ष कमल थापाले पनि प्रचण्डलाई जिस्क्याउन भ्याए। उनले तारिफ गरेको वा व्यङ्ग गरेको के हो भन्ने भेउ प्रचण्डले पाएनन्। उनी मुस्कुराए मात्र। 
थापाले भने - प्रचण्डमा विलक्षण प्रतिभा छ। धेरै चमत्कार गर्नु भएको छ। तपाँइको बिद्रोह र मेरो/हाम्रो परम्परागत मुल्य र मान्यताबीच सामाञ्जस्यता कामय गरौँ। तपाँइको आमुल परिवर्तन र हाम्रो निरन्तरता सहितको परिवर्तनका बीचमा सामञ्जस्यता खोजौँ। कुनै शक्तिले पनि नेपालको राष्ट्रियतामा चुनौती दिन सक्दैन।

उनले विपी कोइरालाले प्रजातन्त्रवादीलाइ पञ्चसँग नझसक्न र पञ्चलाई प्रजातन्त्रवादीसँग नतर्सन भनेको उद्धरणको प्रयोग गरे। 'गणतन्त्रवादीहरु राजतन्त्रसँग नझस्क, राजतन्त्रका पक्षहरु गणतन्त्रसँग नतर्स', थापाले बोलेपछि कार्यकर्ताले ताली ठोके।

 

५) विवाद मञ्चमै छताछुल्ल, लोहनी भन्छन् -  कुनै गुटको भजनमण्डली बनाउनु हुदैँन

नेता प्रकाशचन्द्र लोहनीले राप्रपाको महाधिवेशनको विवाद मञ्चमै पोखे। उनले एकीकरणपछि चुनाव चिन्ह हलो हुनुपर्ने कुरा गरे। तर लगत्तै भने – 'शक्ति सन्तुलन नभए सहमति काम लाग्दैन। दुवै पार्टीको शक्ति सन्तुलन हुने गरि जाँदा सहमति हुन्छ। त्यो यथार्थतालाइ बुझेर हामीहरुले जानुपर्ने मैले महसुस गरेको छु। पदाधिकारी चुन्ने कि नियुक्ती गर्ने? पार्टीका कार्यकर्ताले पदाधिकारीले चुन्न पाउनुपर्छ। नयाँ ब्लड आउनसक्छ। कुनै गुटको भजनमण्डली बनाउनु हुँदैन।'
 

६) पाँचौ पटक प्रधानमन्त्री बन्ने लोकेन्द्रबहादुरको आशा

राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले मञ्चमा पुगेर फेरी प्रधानमन्त्री बन्न सक्ने बताए। 'म चार पटक प्रधानमन्त्री भएँ, तपाँइहरुको आशिर्वाद भए फेरि पनि भइएला।' त्यसअघि चन्दलाई पशुपति शमशेर जबराले २०५१ सालका प्रसङ्गहरु सम्झाएका थिए। चन्द त्यतिबेला प्रधानमन्त्री बनेका थिए। राणाले भने पुरै विकासका भाषणा गरेका थिए। राणाले फास्ट ट्र्याक र अन्तराष्ट्रिय विमानस्थल बन्न नसकेको प्रसङ्ग उप्काउँदै भूकम्प पीडितलाई समेत सम्झन भ्याए।
 

७) कोमल वलीले लगाइन् दिनभर चश्मा

कार्यक्रम सञ्चालन गरेकी कोमल वलीले दिनभर चश्मा खोलिनन्। शाही शैलीमा प्रस्तुत भएकी वलीले रेडियो नेपालको समाचार जस्तै निरस कार्यक्रम सञ्चालन गरिन्। उनले पटक पटक वक्ता बोले लगत्तै सारगर्भित मतव्य भन्ने शब्द दोहोर्‍याइन्। कमल थापालाइ हरेक पटक सम्माननीय भनिन्। अनि जाँदा जाँदै भनिन् – 'म केन्द्रीय सदस्य र हुदैँ गरेको पनि केन्द्रीय सदस्य।'
 

८) गितकार कमल थापा

कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले लेखेको गीतमा नृत्य प्रस्तुत गरियो। थापाले लेखेको गीत 'मेरो प्यारो नेपाल, मेरो मातृभूमी नेपाल' गीत गायक दिपसागरले गाए । जसमा संगीत शम्भुजीत बास्कोटाले भरेका थिए। तमलोपाका सह अध्यक्ष हृदयेश त्रिपाठीले मञ्चमा पुगेर थापाबारे भने – मैले आजै थाहा पाँए कमल थापा गीतकार पनि हुनुहुँदो रहेछ।

 

९) धक्का माथि चर्चा, राप्रपा पुच्छर होइन

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका शक्तिलाइ राप्रपाले धक्का दिने बताएका थिए। तर प्रकाशचन्द्र लोहनीले भने अन्य पार्टीलाई घरबाट निकाल्ने बताए। 'हामी धक्का दिने होइन। उहाँहरुलाई बाहिर पठाउने र हामी भित्र गएर देश निर्माण गर्न लाग्ने।' लोहनीले राप्रपा देशी विदेशको पुच्छर नहुने दावी गरे। 'हामी कसैको पुच्छर होइन। न देशीको न विदेशीको। जनताको पुच्छर हुन्छौँ।' त्यसो त मञ्चबाट लोहनीले सरकारले खर्च गर्न नसक्दा तरलता समस्या आएको भन्दै सरकारको आलोचना गरेका थिए। तर मञ्चमा प्रधानमन्त्री प्रचण्ड उक्लिएपछि उनको बोलीमा बिर्को लाग्यो। उनले भने – 'कत्रो कत्रो काम गरेर हेलिकप्टरमा दौडादौड गरेर हामीलाइ धन्यवाद दिन आउनु भएको छ। तितो कुरा किन सुनाउनु।'

१०) मञ्च पाएनन् रेखा थापा र गणेश थापाले

नायिका रेखा थापा र अध्यक्ष कमल थापाका भाई गणेश थापा भने मञ्चमा पुगेनन्। उनीहरु मञ्चको तलै बसेका थिए। गणेश थापा बसेको स्थानमा बिद्युतको नामो तार समेत थियो। उनी त्यसबाट सचेत रहँदै पटक पटक तारतीर हेर्दै थिए। कोमल वलीसँग पार्टी प्रवेश गरेकी रेखा थापा भने केहीबेर मात्र सभा स्थलमा बसिन्। राप्रपाका सबै उपाध्यक्षले भाषण गर्ने मौका पाएका थिए। 


११) डिजिटल स्क्रिनको व्यवस्था

राप्रपाले कार्यक्रम स्थलमा ठूलो पाँच फिट चौडाई र दश फिट लम्बाइ भएको डिजिटल स्क्रिनको व्यवस्था गरेको थियो। तर कार्यकर्ताको सहजतका लागि चार ठाउँमा थप स्क्रिन राखिएको थियो। कार्यकर्ताहरु भेला भएर स्क्रिनमा समेत उद्घाटन समारोह नियाली रहेका थिए। प्रदर्शनीमार्गमा दर्शकलाइ राप्रपाले सहजताको विशेष ध्यान राखेको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell