PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

कमल थापाले प्रचण्डलाई चमत्कार गर्न हौस्याए, के चमत्कार खुलाएनन्



रमेश वाग्ले

कमल थापाले प्रचण्डलाई चमत्कार गर्न हौस्याए, के चमत्कार खुलाएनन्

काठमाडौं : २०३३ सालमा विपीले लिएको मेलमिलाप नीतिलाई स्मरण गर्दै राप्रपा अध्यक्ष कमल थापाले मेलमिलापको उद्धरण दोहोर्‍याए। 
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकीकरणपछिको एकता महाधिवेसनको उद्घाटन सभामा अध्यक्ष थापाले आफ्नो पार्टी संविधान मान्ने पार्टी भएर पनि राजावादी पार्टी रहेको भन्दै त्यसलाई अन्यथा नलिनका लागि अरु दललाई आग्रहका लागि विपीलाई सम्झिएका थिए ।
 
राजसंस्थालाई निर्वाचनको राजनीतिभन्दा एक तह माथि भन्दै थापाले त्यो नै राष्ट्रिय एकताको आधार हुनसक्ने बताए।
 
'म विपीको भनाइमा आधारित भएर दोहोर्‍याउन चाहन्छु 'गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क, राजावादीहरु गणतन्त्रसँग नतर्स','थापाले भने, 'आज प्रधानमन्त्री आएर हामीसँग नजिक हुन मन लाग्छ भन्नुभयो, उहाँ यो सभामा उपस्थित हुनुको प्रतीकात्मक अर्थ छ।'
 
केही बेरअघि दर्शन र विचार फरक भएर पनि राप्रपा आफूलाई नजिकजस्तो लागेको बताएका प्रधानमन्त्री प्रचण्डलाई थापाले झटारो हाने।
 
उनले माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रचण्डलाई नयाँ प्रस्ताव राख्न पनि भ्याए 'तपाईँहरु विद्रोही शक्ति हुनुहुन्छ, प्रचण्डजीले धेरै चमत्कार पनि गर्नुभएको छ, अब एउटा चमत्कारको आवश्यकता छ।'

हिन्दू धर्म र राजसंस्था पूनर्स्थापनाबारे लबिङ् गर्दै आएका थापाले उद्घाटन कार्यक्रममा समेत यसलाई जोड दिएका थिए। तर उनले प्रचण्डलाई के विषयमा पून चमत्कार गर्न आग्रह गरेका हुन् त्यसमा मुख खोलेनन्।

उनले यत्ति मात्र भने 'अब तपाईँहरुजस्तो विद्रोही प्रजातान्त्रिक शक्ति र हामीजस्तो परम्परागत  शक्तिकाबीच सामञ्जस्यता कायम गरौँ।'
उनले प्रचण्ड र आफूलाई नजिक बनाउने तत्त्व राष्ट्रियता भएको भन्दै आफूले भनेको चमत्कार भए राष्ट्रियता कहिलै कमजोर नहुने बताए।
 

संविधानको विपक्ष भए पनि नाकामा धर्ना बस्नुपर्दैन

 
संविधानका विरुद्धमा आफ्नो पार्टीको राजनीतिक दर्शन प्रस्तुत गरेका थापाले संविधानका विषयमा भने विद्रोहीशक्तिदेखि मधेस केन्द्रित शक्ति सम्मलाई सम्झाउन भ्याए।
 
'हामीले संविधानको विपक्षमा मतदान गरेर पनि पारित भइसकेपछि हस्ताक्षर गरेका छौँ किन भने यो संविधान एकदमै लचक र परिवर्तनीय छ,' थापाले भने, 'संविधानको विपक्षमा रहेकाहरुले जंगल पस्नुपर्ने अथवा नाकामा धर्ना बस्नुपर्ने कुनै आवश्यकता छैन।'
 
उनले संविधानमा सबै विषय परिवर्तनीय भएको अरुलाई सन्देश दिँदै गर्दा गणतन्त्र, संघीयता र राष्ट्रिय अखण्डतासम्बन्धी विषय संविधानको अपरिवर्तनीय विशेषता भएको कुरा भुलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell