PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

राप्रपा एकता महाधिवेशन : हलो र गाइको विवादमा बाँडिए नेता



रमेश वाग्ले

राप्रपा एकता महाधिवेशन : हलो र गाइको विवादमा बाँडिए नेता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकीकरणको तीन महिनामा जिल्ला अधिवेशन सकेर एकता महाधिवेशनमा गएका छन्। दुइ पार्टी एक हुँदा राप्रपाले धर्म निरपेक्षता छोड्ने राप्रपा नेपालले राजतन्त्र छोड्नेगरी समझदारी भएको थियो।

त्यसैले राप्रपा हिन्दुवादी पार्टीका रुपमा जाने तर त्यसरी गरिएका सहमति महाधिवेशनमा कार्यकर्ताको रायमा कार्यान्वयन गर्ने सर्त सहित गत मंसिर ६ गते दुबै पार्टीको एकीकरण भएको थियो। त्यस बाहेक दुबै पार्टीको झण्डाको पृष्ठभूमि समान भएकाले पार्टीको झण्डामा राप्रपा नेपालले चुनाव चिन्हका रुपमा उपयोग गरेको गाई र चुनाव चिन्हका रुपमा राप्रपाले स्थापनाकालदेखि नै प्रयोग गर्दै आएको हलोलाई मान्ने सहमति भएको थियो।

तर त्यही सहमतिका आधारमा भएको एकीकरणबाट केन्द्रीय महाधिवेशनसम्म नपुग्दै कार्यसम्पादन समितिबाट अलग सहमति भएका छन्। सिंगो राप्रपाले पुरानो समझदारी छोडेर राजा सहितको प्रजातन्त्र, सनातन हिन्दुधर्म सापेक्ष राज्य र स्थीय स्वायत्ततासम्बन्धी प्रस्ताव सहमतिबाट तयार पार्यो। तर त्यही प्रस्तावसँग राप्रपाले अब चुनाव चिन्ह पनि गाइलाई नै प्रयोग गर्ने प्रस्ताव समेत मिसियो।

यति भइसकेपछि राप्रपामा खैलाबैला मच्चियो -राप्रपा र राप्रपा नेपाल मिलेर राप्रपा बन्यो। राप्रपा नेपालको नाम राप्रपामा विल भयो। तर नीति नेतृत्वदेखि झण्डा र चुनाव चिन्हसम्म राप्रपा नेपालमा विलय भयो। डवल विलयको अवस्थाले पहिले राप्रपामा रहेका नेताहरुलाई भने पिरोलेको देखियो। त्यही पिरलो छताछुल्ल भएर पोखियो महाधिवेशनको मैदानमा।

एकीकृत पार्टीका अध्यक्ष कमल थापालाई बनाउन राप्रपाका वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जवरा, प्रकाशचन्द्र लोहनी र स्वयम् कमल थापाले हस्ताक्षर गरेर सार्वजनिक गरे।

तर अध्यक्षले सबै पदाधिकारी मनोनयन गर्ने र राप्रपाको चुनाव चिन्ह हलो नभएर गाई नै बनाउने विषय सार्वजनिक भएपछि पुरानो राप्रपाका नेताहरु पशुपतिशमशेर जवरा र प्रकाशचन्द्र लोहनीले पुरानो सहमति नै नमान्ने संकेत गरेका छन्।

पार्टीको राष्ट्रिय अध्यक्ष पदमा रहेका लोहनीले विज्ञप्ति जारी गरे चुनाव चिन्ह र पदाधिकारीको चयन निर्वाचन हुने ज्ञारेन्टी नभएमा आफूले उम्मेद्वारी दिने घोषणा गरे भने एकता महाधिवेशनको मैदानमै उनले त्यो कुरालाई प्रतिनिधिहरुमाझ राखे।

'राप्रपाको हलो-हलोले गर्छ सबैको भलो भन्दै हामी डाँडाकाँडा घुमेका हौं, यही नारा र हलो चिन्ह जनतामा स्थापित छ,' लोहनीले भने, 'त्यसैले यो कुरालाई अस्वीकार गरियो भने पार्टीमा सहमतिको संभावना रहँदैन।'

उनले पदाधिकारी पनि अध्यक्षले आफ्नो भजनमण्डली बनाउनेगरी मनोनित गर्ने व्यवस्था अमान्य भन्दै पदाधिकारी कसलाई बनाउने भन्ने विषय महाधिवेशन प्रतिनिधिको छनौटको विषय भएको बताए।

'पदाधिकारी हुन को योग्य छन् को छैनन् भनेर छनौटको अधिकार महाधिवेशन प्रतिनिधिहरुको हो,' उनले भने, 'त्यसरी छनौटको अधिकार प्रतिनिधिलाई हुँदैन भने त्यसले पनि सहमतिमा अघि बढ्न बाधा खडा गर्छ।'

उनले पदाधिकारी छान्ने अधिकार प्रतिनिधिको भन्दा उद्घाटन सत्रमा उपस्थित प्रतिनिधिहरुले पनि ताली बजाएर स्वागत गरे। राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जवराले कसैलाई पनि चुनाव चिन्ह बदल्ने अधिकार नभएको भन्दै कमल थापालाई धम्कि नै दिए। 'हाम्रो पार्टीले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको भनेको ५१ सालमा १८ प्रतिशत मत प्राप्त गरेर तेस्रो पार्टी भएको हो,' जवराले भने, 'त्यो चिन्ह जनताको मन मनमा स्थापित पनि छ, अहिले आएर आफू खुसी बदल्ने अधिकार कसैलाई छैन।'

उनले प्रतिनिधिहरुलाई 'यो चिन्ह बदल्न दिनु हुँदैन हलोलाई नै अघि बढाउनुपर्छ' भन्दा प्रतिनिधिहरुले पनि ताली ठोकेका थिए।
दुबैको जवाफलाई अध्यक्ष कमल थापाले कुटनीतिक जवाफ दिएर विषयमा सहमति भइसकेको बताए।

'पार्टी एकता हुँदा महाधिवेशनका लागि मुद्धा बनाइएका कतिपय विषयहरु पनि हाम्रो कार्यसम्पादन समितिले सर्वसम्मतिबाट मिलाएको छ,' थापाले भने, 'यस्तो कुरा सुनाउँन पाउँदा मलाई सन्तोषको अनुभूति भएको छ।'

कार्यकर्ताले तीनजना नेताको भनाईमा ताली ठोकेकाले सबै नेताहरु उत्साहित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell