काठमाडौं : नेपाल आइटीएफ जुनियर अठार वर्षमुनि (यु–१८) टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को डबल्स उपाधि भारतीय खेलाडीले जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सको फाइनल खेलमा भारतका आदित्य ऐयर र पियुष सुरेन्द्र सलेकरको जोडीले सर्किट– १ का विजेता आफ्नै राष्ट्रका गुन्जन जाधव र अथर्व शर्माको जोडीलाई ७–६ र ७–५ को सेटमा पराजित गरे ।
त्यस्तै महिला डबल्सको उपाधि भिडन्तमा भारतीय जोडी वैदेही चौधरी र शिभानी स्वरुप इङलेले प्रतिद्वन्द्वी चिनियाँ जोडी युजिआओ छे र जिङयी वाङलाई ६–३ र ६–३ को सोझो सेटमा हराए ।
डबल्सका विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस सङ्घका अध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे।
महिला सिङ्गल्समा पनि वैदेही उपाधि नजिक पुगेकी छिन् । सर्किट– १ की विजेता वैदेहीले चीनकी मिङक्यु याङलाई ६–४, ४–६ र ६–१ को सेटमा पाखा लगाउँदै आफ्नै डबल्स पार्टनर शिभानीसँग फाइनल भेट पक्का गरिन् । अर्को सेमिफाइनलमा शिभानीले चीनकी युजिआओ छेमाथि ६–३ र ६–३ को जित निकालिन् ।
पुरुष सिङ्गल्समा सर्किट– १ का विजेता भारतका मृत्युञ्जय बदोला र चीनका पेनग्यु लु उपाधिका लागि भिड्ने छन् । मृत्युञ्जयले भारतका तीर्थ शशाङ्क मार्चेलालाई ५–७, ६–२ र ६–४ तथा पुनग्यु लुले भारतकै आर्यन जाभेरीलाई ७–६(५) र ६–३ ले पाखा लगाए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।