PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

१० वर्षमा फर्किएको कमल थापाका दिन : हिजो नाम लिन हिच्किचाउनेले आज सहकार्यको प्रस्ताव राखे



रमेश वाग्ले

१० वर्षमा फर्किएको कमल थापाका दिन : हिजो नाम लिन हिच्किचाउनेले आज सहकार्यको प्रस्ताव राखे

काठमाडौं : 'प्रतीक्षा गर.. समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ…….'

दीपक खरेलको यो गीतले आफ्नी मायालुलाई प्रतीक्षा गर्नसके समयले धेरैखाले परिणाम दिने कुरा सम्झाएका छन्।

त्यस गीतको भावका धेरै प्रयोगहरु धेरै ठाउँमा भए होलान्। तर त्यही भावको राजनीतिक प्रयोग भने कमल थापाको जीवनमा भएको छ। उनको पछिल्लो एक दशकको राजनीतिक जीवन प्रतीक्षाको बलियो परिणाम बनेर देखा परेको छ।

२०६२/०६३ सालको जनआन्दोलनताका राजा ज्ञानेन्द्रको अध्यक्षतामा रहेको सरकारमा गृहमन्त्री रहेका कमल थापालाई जनआन्दोलन दबाएको र न्यूनतम मानवीय व्यवहार समेत नगरेको आरोप लागेको थियो।

त्यही कारण कमल थापाले ०६४ सालका संविधानसभको चुनावमा काठमाडौं र मकवानपुरबाट दुई ठाउँबाट उम्मेद्वारी दिए पनि काठमाडौका सडकमा मात्र कमल थापा निस्कन सकेका थिए।

काठमाडौका सडकमा सुरक्षासहित निस्किएका थापा दोस्रो संविधानसभा चुनावमा भने बुद्धि लगाएर समानुपातिकतर्फबाट संविधानसभा छिरे। त्यसरी संसद्‍मा छिरेका थापाको हैसियत एक दसकमै पुरै १८० डिग्रीको बदलाव आयो।

संविधानसभा चुनावमा प्रत्यक्षतर्फ एक सिट नजिते पनि समानुपातिक तर्फबाट २४ सिटसहित संविधानसभा छिरेका थापाको दिन त्यहीँबाट फर्कियो। उनी एकाएक सबका प्रिय भए।

गणतन्त्र ल्याउन जङ्गल छिरेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले समेत टाढा नहुनु ल भन्दै अनुनय गर्नुपर्ने दिन आए। राजनीतिमा थापालाई वैधानिक शक्तिको हैसियतसमेत नदिने गणतन्त्रवादी नेताहरु शुक्रबार राप्रपा र राप्रपा नेपालको एकीकरण सभामा गएर उनै कमल थापाको प्रशंसाका लागि तँछाडमछाडमा उत्रिए।

एकीकृत राप्रपाको भविष्य के हुन्छ ? भविष्यवाणीको प्रतिष्पर्धामा कसैले दोस्रो नम्बर दिए, कसैले पहिलो नम्बरमा पुग्न शुभकामना दिए।
एमाले नेता केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र थापाको नाम लिएरै उनकाविरुद्ध लामा भाषण गर्ने प्रचण्डसमेत प्रधानमन्त्रीकै हैसियतमा गएर थापाको प्रशंसा गरे।

एकीकरण सभाका दृष्यमा राप्रपाका वरिष्ठ नेताहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशमसेर राणा समेत पुड्का देखिएका थिए।

'म एउटा कम्युनिष्ट हुँ, विद्रोही नेता हुँ र सशस्त्र आन्दोलनको सर्वोच्च कमाण्डर पनि हुँ,' प्रधानमन्त्रीले भने, 'तर पनि म राप्रपासँग एकदम निकट जस्तो महसुस गर्छु। राप्रपासँग मिलुँ मिलुँ झै लाग्छ।'

हिजोका पञ्च, मुसे प्रवृत्तिका प्रवर्तक अनि ज्ञानेन्द्रका अन्ध समर्थक थापासँग निकट हुन प्रचण्डले खर्चिएको यही शब्दले देखाउँछ १० वर्षमा थापाले आर्जन गरेको राजनीतिक शक्ति।

अर्को ढंगले कांग्रेस सभापति देउवाले पनि थापाको प्रशंसा गरे। उनले निकट भविष्यमा आफ्नो नेतृत्वमा सरकार बन्नेतर्फ संकेत गर्दै त्यसमा राम्रै सहकार्य हुने अप्रत्यक्ष आश्वासन बाँडे।

देउवाले राप्रपासँगको पुरानो सहकार्य स्मरण गर्दै निकटता प्रस्तुत गरे र फेरि पनि सहकार्यको आशा राखे।

'५१ सालमा मेरो मन्त्रिपरिषदमा प्रकाशचन्द्र लोहनी, कमल थापा र पशुपतिशमशेर राणा हुनुहुन्थ्यो' देउवाले भने, 'अब पनि त्यो दिन टाढा छैन।'
एमाले अध्यक्ष ओलीले त अन्य कुरामा जस्तै अरुलाई उछिनेर नै थापाको प्रशंसा गरे। ओलीले थापालाई राप्रपालाई एमालेपछिको दोस्रो शक्ति बन्न सक्ने भनेर फुर्काउँदै राष्ट्रियताका मुद्दामा आफूसँग निकट भनेर उचाले।

'संविधान जारी भएपछि हाम्रो राम्रै सहकार्य भएको थियो, त्यसले देशलाई पनि फाइदा पुर्‍याएको थियो,' आफ्नो सरकारका उपप्रधानमन्त्री कमल थापातर्फ हेर्दै ओलीले भने, 'तर पछि कस्ले के हावा भरिदियो कुन्नि हाम्रो सहकार्य टुट्न पुग्यो।'  अहिले राप्रपा प्रचण्ड सरकारमा सहभागी छ। भलै त्यो पार्टी एकता हुनुअघिको निर्णय थियो। 

उनले अझै पनि एमाले र राप्रपाको सहकार्य आवश्यक रहेको बताए। ओलीले एमाले बाहेक सबैलाई धक्का दिन आग्रह गर्दै मुद्दामा पनि आफैसँग निकट भएको बताए।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले राप्रपा एक नम्बर शक्ति बन्न सक्ने भन्दै हौस्याए।

उपयोगवादका महारथी
 

उपयोगमा माहिर थापा राजनीतिक हावा अनुसार आफुलाई बदल्न माहिर मात्रै छैनन्,राजनीतिक हावामा मिसिएको अवसरको गन्ध पहिल्याउन समेत उत्तिकै सफल छन्।

दरवारले नपत्याए पनि राजतन्त्रको पक्षमा उभ्याएर राजतन्त्र पक्षधरको सान्त्वना बटुल्न सफल हुनु र असम्भव मुद्दा भए पनि हिन्दु धर्म र संघीयताको पक्षमा उभ्याएझैँ देखाउनु उनको यही उपयोगवादी राजनीतिक चेतको नतिजा हो।

पहिलो संविधान सभा निर्वाचन उनका लागि अनुकूल थिएन र भएन। मूलधारका दलका असफलताले बढाएको निरासामा खेल्दै दोस्रो संविधान सभाको निर्वाचनसम्ममा उनले आफु अनुकूल वातावरण मात्र बनाएनन् आफूलाई वैकल्पिक मत पाउनसक्ने दलको हैसियतमा पुर्‍याउँदै कि दाइ कि गाईको नारा चलाउन सफल भए।

त्यसैको प्रभावस्वरुप संविधानसभामा मनोनितततर्फ मन्त्रिपरिषद्ले नियुक्त गर्ने सभासद् समेत लिएर आफ्नो तर्फको २५ सिट हात पारेका थापाले राप्रपा नेपाललाई संविधान सभाभित्रको चौथो शक्तिका रुपमा उभ्याउन सफल भए।

संविधान जारी भयो, संविधानसभा संसद्‍मा परिणत भयो। थापा सत्ता राजनीतिको खेलमा निर्णायक शक्तिका रुपमा स्थापित हुँदै गए। संविधान जारी भए लगत्तै बनेको ओली नेतृत्वको सरकारमा दोस्रो हैसियतसहित उपप्रधान तथा स्थानीय विकास मन्त्री बनेका थापा त्यस लगत्तै परिवर्तन भएको सरकारमा सहभागी भएनन्।

तर राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गरेपछि उनी विपक्षमा मतदान गरेको सरकारमा सत्ता पक्ष भए। त्यही एकीकरण पछि उनले राप्रपाको मूल नेतृत्व पाएर एकीकरणको तीन महिनामा उनले जिल्ला अधिवेशन सकाएर केन्द्रीय अधिवेशन उद्घाटन गर्दा यति धेरै शक्ति आर्जन गरे कि खुंखार गणतन्त्रवादी नेता समेत राजावादी थापाका कट्टर प्रसंशक बन्न बाध्य भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell