PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बारा वन कार्यालयमा अख्तियारको छापा, साढे २ करोडभन्दा बढीको अनियमितता गरेको उजुरी



राधेश्याम पटेल

वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जिल्ला वन कार्यालय बारामा छापा मारेको छ।
 
मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडाको टोलीले कार्यालयमा छापा मारी विभिन्न कागजातहरु नियन्त्रण लिइ हेटौडा फर्केको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पुष्टि गरेका छन्। आयोगको हेटौडा कार्यालयका उपसचिव देवकुमार राईको नेतृत्वमा आएको टोलीले जिल्ला वन कार्यालयमा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको हो। अख्तियारको टोली बिहान ११ बजे आई साझ साढे ५ बजे हेटौडा फर्केको थियो।
 
टोलीले प्रमुख जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वर पटेल, सहायक वन अधिकृत शिवशंकर ठाकुर र सहायक वन अधिकृत अमरदेव यादवलगायतले अनियमितता गरेको उजुरीको आधारमा छापा मारिएको जिल्ला वन कार्यालय बारा स्रोतले बताएको छ।
 
सहायक वन अधिकृत ठाकुरले अनियमितता गरी टाटा सुमो खरिद गरेको, सहायक वन अधिकृत यादवले कार्यक्रमका लागि पेश्की लिई रकम दुरुपयोग गरेको, सहायक वन अधिकृत पटेलले आर्थिक अनियमितता गरी काठमाडौंमा घर खरिद गरेको र प्रमुख वन अधिकृत घिमिरेले २१ लाख रुपैयाँ ठगी गरेको उजुरी हेटौडा क्षेत्रीय कार्यालयमा परेकोले अनुसन्धानका लागि आवश्यक कागजातहरु लगेको स्रोतले बताएको छ।
 
गत आर्थिक वर्षमा जिल्ला वन कार्यालय बाराका कर्मचारीहरुबाट करिब दुई लाख ५० हजारको रुपैयाँका अनियमितता भएको सरोकारवालाहरुले अख्तियारमा उजुरी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell