काठमाडौं: भारतको उत्तरप्रदेशमा जारी निर्वाचनमा भारतीय जनता पार्टीले नेपाल भारत सीमामार्फत हुने आतंकवादी गतिविधिलाई चुनावी मुद्दा बनाएका छन्। उनीहरुले सीमाक्षेत्रमा बनेका मदरसा र मस्जिदको बढ्दो संख्या देखाउँदै यसलाई आतंकवादी गतिविधिसँग जोडेर चुनावी मुद्दा बनाइरहेका छन्।
मुस्लिमको जनसंख्या बढी रहेको उत्तर प्रदेशको बहराइच र श्रावस्तीका उम्मेदवारहरुले सीमाक्षेत्रमा बढिरहेको मदरसाले भारतमा सुरक्षा खतरा बढाएको भन्दै आफ्नो चुनाव प्रचारमा यसैलाई मुल मुद्दा बनाइरहेका छन्।
यस अगाडिका निर्वाचनमा समेत बिजेपीका नेताहरुले नेपाल-भारत सीमामा रहेका मदरसामा हुने गतिविधिमाथि आशंका गर्दै यसलाई चुनावी मुद्दा बनाउँदै आएका छन्। यस पटक यसलाई बिजेपी सांसद ददन मिश्राले बढी उचालिरहेका छन्।
श्रावस्तीका बिजेपी सांसद मिश्राले फस्टपोस्टसँगको कुराकानीमा सीमावर्ती क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरुले जग्गा किनेर मदरसा बनाउने गरेको र त्यसैको आडमा गलत गतिवधि गर्ने गरेको दाबी गरे।
उनले यस्तो गतिविधि नियन्त्रण गर्नुपर्ने भन्दै पछिल्लो समय सीमा सुरक्षा बल (एसएसवी) ले निगरानी बढाएकाले केही नियन्त्रण भएको दाबी गरे।
उनले नेपाल-भारत सीमामा हुने भारत विरोधी गतिविधि नियन्त्रणका लागि बिजेपीको आरएसएस र स्वयंसेवकले सीमा क्षेत्रमा जागरण अभियान चलाइरहेको र यसले समेत नियन्त्रणमा सघाएको दाबी गरे।
यस क्षेत्रका मदरसा चलाएर बसिरहेकाहरु भने यो केवल चुनावी मुद्दा मात्रै भएको बताउँछन्। बहराइचको भोपतपुरमा रहेको मदरसाका म्यानेजर मोहम्मद अफसर खाँ मदरसा चन्दाबाट चलिरहेको दाबी गर्दै बिजेपी नेताले दाबी गरेझैँ बाहिरी सहयोग अत्यन्त थौरै आउने गरेको बताए।
उनले मदरसामा बाहिरबाट सहयोग आउने गरेको र त्यसैको आडमा भारत विरोधी गतिविधि हुने गरेको नेताहरुको दाबी सुन्दा हाँसो लाग्ने गरेको बताए।
बिजेपी सांसदले मात्रै हैन, नेपाल-भारत सुरक्षा बैठकमा भारतीयपक्षले बारम्बार नेपाल-भारत सीमामा बढिरहेको मदरसामाथि आशंका जनाउँदै नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने गरेका छन्।
बैठकमा उनीहरुले मदरसामा हुने गतिविधिको तथ्यपरक प्रस्तुतिभन्दा बढ्दो संख्यामा प्रश्न गर्दै यसलाई पाकिस्तानमा सक्रिय अतिवादी मुस्लिम संगठनसँग जोडेर विश्लेषण गर्ने गरेका छन्।
युपीको निर्वाचमा उठिरहेको सीमा आतंकवाद मुद्दाबारे जिज्ञासा राख्दा आतंकवादसम्बन्धी जानकार एक उच्च प्रहरी अधिकारीले भने' चुनाव होस् कि नेपाल-भारत सुरक्षा बैठक सबैतिर उनीहरु यस्तै गर्छन्। कुनै तथ्य भए दिनुस् हामी अनुसन्धान गर्छौ भन्दा केवल दाबी मात्र प्रस्तुत गर्छन्।'