PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

वीरगन्ज नाकाबाट इन्धन आयातमा वृद्धि, सात महिनामा साढे ३२ अर्ब बढीको इन्धन भित्रियो



पहिलोपोस्ट

पर्सा : वीरगन्ज नाका भएर साढे ३२ अर्बभन्दा बढीको इन्धन आयात भएको छ।
 
चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
 
गत आर्थिक वर्षको सोही अवधिमा यो नाकाबाट ३० अर्ब ६४ करोड ७३ लाख छ हजार मूल्य बराबरका एक लाख २३ हजार ९०३ केल इन्धन र २४ हजार ४११ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो।
 
यो गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा एक अर्ब ९८ कारोड ६५ लाख बढी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए।
 
उनले गत आर्थिक वर्षको तुल्नामा चालु आर्थिक वर्षमा सोही अवधिमा चार लाख २३ हजार ९७५ केल इन्धन र ७४ हजार ९२८ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको बताए।
 
चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकाबाट भएको इन्धन आयातबाट भन्सार कार्यालयले सात अर्ब ६७ करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ।
 
वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल, बरौनी, मथुरा, हल्दियालगायतका स्थानबाट नेपालक लागि पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आयात हुने गरेको छ।
 
नेपालको लागि आवश्यक इन्धनको ६० प्रतिशत इन्धन वीरगन्ज नाकाबाटै आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
 
चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट एक लाख २३ हजार ८६२ केल पेट्रोल, ८० हजार ६६२ केल एटिएफ (हवाई इन्धन), ६ हजार ३१७ केल मट्टितेल र तीन लाख ३६ हजार ७६४ केल डिजल आयात भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell