PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मधेसी मोर्चाको धम्कीपछि चुनावबारे प्रधानमन्त्रीको बोली फेरियो



पहिलोपोस्ट

मधेसी मोर्चाको धम्कीपछि चुनावबारे प्रधानमन्त्रीको बोली फेरियो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलहरुसँगको समन्वयमा निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्।
निर्वाचन दिवसमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले संविधानमा व्यवस्था भए बमोजिमका निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले मिति घोषणाका लागि सबै दलसँग परामर्श हुने बताएका हुन्।

आयोगको कार्यक्रममा जानु अगाडि उनले निर्वाचन मिति घोषणाबारे मधेसी मोर्चासँग छलफल गरे पनि परिणाम भने सकारात्मक आएको थिएन।

निर्वाचन मिति घोषणा गरेर संविधान संशोधन प्रकृया अगाडि बढाउने प्रस्ताव मधेसी मोर्चाबाट अस्विकार भएको थियो। संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा भए मधेस फर्किएर आन्दोलन गर्ने भन्दै मोर्चा नेताले प्रधानमन्त्रीलाई धम्क्याएका थिए।

शनिबार आयोगको कार्यक्रममा पुगेका उनले निर्वाचनका लागि आयोगलाई आवश्यक पर्ने आर्थिक, मानवीयलगायतका सबै सहयोग गराउन सरकार तयार रहेको बताएका थिए।

आयोगको कार्यक्रममा उनले बिहान प्रजातन्त्र दिवसमा टुंडिखेलमा गरेको भाषणकै अंशहरु दोहोर्‍याएका थिए। विहानको भाषणझै उनले आयोगमा समेत नेपाल सरकारले मन्त्री परिषद् बैठकबाट निर्वाचन आयोगलाई आगामी वैशाख अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरेको र रिक्त रहेका निर्वाचन आयुक्तहरुको पदपूर्तिले पूर्णता पाएकाले निर्वाचनप्रति कुनै शङ्का नरहेको दावी गरे।

२००७ साल फागुन ७ मा नेपालमा निर्वाचन सुरु भएको थियो। त्यही दिन पारेर आयोगले पहिलोपटक निर्वाचन दिवस मनाएको हो।
कार्यक्रममा प्रचण्डले जनताले चुनेका प्रतिनिधि पहिलोपटक शासन सत्तामा पुगेको यस दिनको महत्त्वलाई चिरस्थाइ बनाउन आयोगले निर्वाचन दिवस मनाएकोमा खुसी लागेको बताए।

जनताले चुनेका प्रतिनिधिहरुले संविधान सभाबाट बनाएको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने मिति निर्वाचन मात्रै रहेको उनले बताए।

२०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन पूरा गरी संविधानको कार्यान्वयन गर्ने दायित्व रहेको भन्दै उनले भने, निर्वाचनको स्वच्छता र सर्वस्वीकार्यताको माध्यमबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न गराउनमा मद्दत पुग्ने भएकाले निर्वाचन नै महत्त्वपूर्ण आवश्यकता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell