PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

पत्रकार महासंघ सदस्यता विवाद : युनियन र फोरमद्वारा इलाम अधिवेशन बहिष्कार



पहिलोपोस्ट

पत्रकार महासंघ सदस्यता विवाद : युनियन र फोरमद्वारा इलाम अधिवेशन बहिष्कार

काठमाडौं : नेपाल पत्रकार महासंघका पदाधिकारी सहमतीमा सदस्यता विवाद टुंग्याउन राजि भएको भन्दै नेपाल प्रेस युनियनले केन्द्रमा लगाएको ताला खुलाए पनि जिल्लातहमा विवाद थप बढेको छ।

केन्द्रमा भएको सहमती अनुसार विवादित जिल्लाको सदस्यताबारे छानविननै नगरी अधिवेशन शुरु भएपछि एकपक्षाले इलाममा महासंघको जिल्ला अधिवेशननै बहिष्कार गरेका छन्। सदस्यको नामावली सार्वजनिकनै नगरी बलजफ्ति महाधिवेशन गर्न लागेको भन्दै नेपाल प्रेस युनियन इलाम शाखा र संघीय प्रेस फोरमले शनिबार शुरु भएको अधिवेशन बहिष्कार गरेका हुन्।

सदस्यता विवाद टुङ्गो लागेको भनिए पनि अधिवेशनको अघिल्लो दिनसम्म सदस्यको सूची नआएकाले अधिवेशन दुई दिन पछि सार्न गरिएको आग्रहलाई बेवास्ता गरेको भन्दै युनियन र फोरमले अधिवेशन वहिष्कार गरेका हुन्।

पटक पटकको बार्ता असफल भएपछि महासंघ, इलामले केन्द्रको निर्देशन भन्दै शनिबार एकतर्फी रुपमा अधिवेशन उद्घाटन गरेको उनीहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सदस्यहरुको भावनालाई अपमान गर्दै बलजफ्ती अधिवेशन गरेकाले समानान्तर समिति गठन गर्ने तयारी भइरहेको नेपाल प्रेस युनियन,इलाम शाखाका सभापति तोयानाथ भट्टराईले बताए। उनले अदालतसम्म जाने दावी गरे।

गैर पत्रकारलाई सदस्य बनाएको दावी गर्दै युनियन केन्द्रले महासंघको केन्द्रमा लगाएको ताला शुक्रबार खोलेको थियो। सदस्यता विवाद भएका जिल्लाबारे सहमतीमा टुंग्याउने अमूर्त सहमती गर्दै युनियनका केन्द्रीय पदाधिकारीले ताला खोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell