3.jpg)
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले व्यवस्था गरे अनुसारका सबै निर्वाचनहरु सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई समयसीमाभित्र कार्यन्वयन गर्नु अहिलेको महत्त्वपूर्ण कार्यभार भएको बताएकी छिन्।
निर्वाचन दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, 'स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि आवश्यक पर्ने कानुनी पूर्वाधारलयागतका सम्पूर्ण आधारशिला तयार पार्न सरकार, राजनीतिक दल र भर्खरै पूर्णता पाएको आयोग समन्वयात्मक ढङ्गबाट सक्रिय बन्नु पर्दछ।'
उनले भनिन्, 'संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्वलाई कुशलतापूर्वक सम्पन्न गर्ने नै छ। संवैधानिक व्यवस्थाअनुसार आगामी दिनमा आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनु पर्दछ।'
नेपालको निर्वाचन अभ्यासलाई विश्व मानक अनुरुपको बनाउँदै लैजानका लागि लोकतान्त्रिक मुलुकका राम्रा अभ्यासहरुबाट सम्वृद्ध बन्न सकिने उनले बताइन्।
लोकतन्त्रलाई सम्वृद्ध र सुदृढ बनाउन महत्त्वपूर्ण योगदान गर्न सक्ने राजनीतिक दलहरु भएकाले निर्वाचनप्रति सधैँ सबैको आस्था विश्वास र सम्मान जनाउन दलहरु परिपक्व रहेको उनले बताइन्।
सार्वभौम नागरिक अधिकारका रुपमा रहेको आवधिक निर्वाचन दलहरुबीचको लोकप्रियता जनआधारको स्पष्ट र घोषित सूचक तथा द्वन्द्व व्यवस्थापनको लागि एउटा महत्त्वपूर्ण माध्यम भएको उनले बताइन्।
नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम समयमै निर्वाचन गराउन निर्वाचन सरकार, आयोग र राजनीतिक दलहरुलाई बेलाबेला घच्घच्याउँदै आएको उनले बताइन्।