
हीरापुर (सर्लाही) : ए डिभिजन क्लवहरु एपिएफ र सिएमजी सङ्कटाले सर्लाहीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा गोलरहित बराबरी खेलेका छन्।
सर्लाहीको बरहथवा नगरपालिकास्थित हीरापुरको बुद्धि विकास खेल मैदानको उद्घाटनको अवसरमा मैत्रीपूर्ण खेल खेलाइएको हो। मधेसमा फुटबल खेलको विकास गर्ने उद्देश्यले बुद्धि विकास खेल मैदान विकास समितिले उक्त खेलको आयोजना गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फाले खेललाई प्राविधिक सहयोग गरेको थियो। ए डिभिजन क्लवले मैत्रीपूर्ण फुटबल खेलेको सर्लाहीमा यो पहिलो पटक हो। सिएमजी क्लवका अध्यक्ष तथा सांसद नरेन्द्र शाहको निरन्तर प्रयासमा उक्त खेल सफल भएको हो।
सांसद् कोष र क्षेत्र विकास कोषको केही रकम खर्च गरी यस खेल मैदान तयार पारेको सांसद् शाहले बताए। भविष्यमा मैत्रीपूर्णसँगै अन्य ठूला प्रतियोगिताहरु समेत आयोजना गर्ने लक्ष रहेको उनले बताए। संकटा र एपिएफ सोमबार धरानमा बुढासुब्बा गोल्डकप खेल्न आइतबार धरान जाँदैछ।
उक्त अवसरमा सर्लाहीबाट राष्ट्रिय फुटबल टिममा खेलिसकेका जुमानु राईलगात पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा क्याप्टेन बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाई सम्मान गरिएको थियो।