
म्युनिक : जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकालाई युरोपियन युनियन (इयु), संयुक्त राष्ट्रसङ्घ र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) जस्ता बहुपक्षीय हितका लागि कार्यरत संघ–संस्थासँगको सहयोग र सम्बन्धलाई मजबुत बनाएर अघि बढ्न आग्रह गरेकी छन्।
जर्मन चान्सलर मर्केलले अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा विश्व नेताहरु, कूटनीतिज्ञ, सुरक्षा अधिकारी उपस्थित म्युनिक सुरक्षा सम्मेलनमा शनिबार एकताले सबैलाई बलियो बनाउने बताएकी हुन्। मर्केलको सम्बोधन अमेरिकी ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ किसिमका शङ्का उपशङ्का उब्जाइरहेका बेला अमेरिकी उपराष्ट्रपति पेन्सको उपस्थितिमा भएको हो।
खासगरी इयु र नेटोमा ट्रम्प प्रशासनको रसियाप्रतिको झुकावका कारण कतै अमेरिका यी सङ्गठनसँगको बहुपक्षीय सम्बन्ध बलियो बनाउने कुरामा पछि हट्दै त छैन भनी आशङ्का उब्जिएको छ।
‘के इयु र अमेरिका राम्रोसँग सहकार्य गर्न तयार छ वा आफ्ना फरक फरक गतिविधिका कारण सम्बन्धमा समस्या आउने त होइन?’ मर्केलले अमेरिकी उपराष्ट्रपति मार्फत नयाँ प्रशासनको धारणाबारे जान्न आवश्यक ठानेको बताइन्। जर्मन चान्सलरले नेटो तथा अन्य संघ सङ्गठनमा सँगसँगै अघि बढ्दै विश्वलाई शान्ति र प्रगतिको मार्गमा निर्देश गरिनुपर्नेमा जोड दिइन्।
उक्त अवसरमा पेन्सलाई अमेरिकी राष्ट्रपति ट्रम्पको के नेटो ‘निर्विकल्प’ उपाय हो भनी व्यक्त गरेको टिप्पणीप्रति प्रश्न गर्दै यसबारे अमेरिकी धारणा माग गरिएको थियो।
जर्मन चान्सलर मर्केललगायतका विश्व नेताबाट उठाइएका आशङ्काप्रति आश्वासन दिँदै अमेरिकी उपराष्ट्रपति पेन्सले संयुक्त राज्य अमेरिका नेटोलाई हरतरहबाट सहयोग गर्न र ट्रान्सएलान्टिक गठबन्धनसँगको सहकार्यलाई दृढताकासाथ अघि बढाउने प्रतिबद्ध रहेको बताए।
उक्त सवालप्रति अमेरिकी उपराष्ट्रपति पेन्सल भने ‘तपाईंहरुको सङ्घर्ष हाम्रो संघर्ष हो र नेता तथा राष्ट्रसङ्घको सफलतामा अमेरिका पनि खुसी हुनेछ।’
अमेरिका आगामी दिन पनि यी सङ्गठनसँग अटुट सहकार्य गर्ने कुरामा विश्वस्त हुन पेन्सले आग्रह गरे। सम्मेलनमा नेटोका महासचिव जेन्स स्टलटेन वर्गलगायतका युरोपेली नेताहरु पछिल्ला दिनमा अमेरिकी नीतिमा परिवर्तन आउन लागेको त होइन भनी जिज्ञासा व्यक्त गरेका थिए।
दूईदिन पहिले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताएका थिए।
अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)ं सदस्य राष्ट्रसँगको कुराकानीलाईृ पुनःस्थापित गर्नु हामीहरूको पारस्परिक चासोको विषय भएको रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको कुराकानीका क्रममा बताए।
तर अमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध र रसियाको अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषय अमेरिकी राजनीतिक जगत्मा ठूलो चर्चांको विषय बनेको छ । रासस/एएफपी/एपी