जुरा : सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।
भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन्। उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनुवाइ नगरेको र जिल्लाको विभिन्न सरकारी कार्यालयका गाविसमा बन्दै गरेका भवनसमेत समयमै नसकिने गरेको भन्दै आपत्ति जनाएका छन्।
जिल्लाका काँडा, डोगडीलगायतका गाविसमा निर्माण भएका स्वास्थ्य चौकीका भवन सात वर्ष बढी बितिसक्दा पनि अझै पूरा नभएको र अन्य जिल्लाको पानी निकास हुने ढलको मनोमानी रुपमा सर्भे गरी निर्माण कार्य थालेको भन्दै डिभिजन कार्यालय डोटीका प्रमुख झपडसिंह विश्वकर्मालाई गुनासो सुनाएका थिए।
शनिबार जिल्लाको भवन निर्माण डिभिजन कार्यालय बाजुराका लागि आएका भवन निर्माण र लागतका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको औपचारिक भेटघाट कार्यक्रममा जिल्लाको रकम सही सदुपयोग नहुनुका साथै समयमै भवन निर्माण नभएकोमा उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले गुनासो गरे।
भवन निर्माण डिभिजन प्रमुख झपडसिंह विश्वकर्माले बाजुराका लागि सहरी विकास भवन मर्मत सुधार कार्यक्रम, १०० जनता आवास कार्यक्रममा, भूकम्पीय जोखिम न्यूनीकरण कार्यक्रम सुरु हुने बताए।
विश्वकर्माले भने ‘बाजुरामा आठ वटा भौतिक मर्मत कार्यक्रम सञ्चालन भइरहेका छन् जिल्लामा नमुना एकीकृत बस्ती विकास कार्यक्रम, नयाँ निर्माण भएका नगरपालिका भवन निर्माण कार्यक्रम भइरहेका छन्।’
सदरमुकाम मार्तडीको पानी निकास हुने नहर र कोल्टी बजारका लागि नहर बनाउने ठेका भइसकेका छन्। जिल्ला अस्पतालमा भवन नहुँदा बिरामी सास्ती भोग्दै आएकोमा ५० श्ययाको भवन निर्माणका लागि छिटो पहल गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर मोहन नाथले माग गरे।
जिल्लामा आएको गत आवको रकम समेत सही सदुपयोग नभएको र जिल्लाको भवन निर्माणका लागि बनेको गुरुयोजना कार्यान्वयन नभएको पदम बडुवालले बताए।