रत्ननगर (चितवन) : माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमाक्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ।
गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए। सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो।
एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उनले जानकारी दिए।
एक वर्षे अवधिमा दुई हजार १६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ। १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ।
हराएको भनी माइती नेपालमा खोजीका लागि १०३ जनाको निवेदन परेकोमा ४० जना भेटिएका छन्। घरेलु हिंसामा परेका ४१ घटनामध्ये २४ घटना समाधान भएको माइती नेपालले जनाएको छ।
पछिल्लो समयमा यातायातकर्मीलाई प्रशिक्षण दिएर उनीहरूलाई चेतना दिन थालिएको छ। सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीले सामान्य ध्यान दिए भने यो बेचबिखन न्यूनीकरण हुनसक्ने भएकाले उनीहरूलाई चेतना दिन थालिएको हो।