
नुवाकोट : सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सबै पक्षको सहमतिमा संविधानको पूर्ण कार्यान्वयनको वातावरण निर्माण गर्न निर्वाचन मिति घोषणामा ढिलाई भएको स्पष्ट पारेका छन्।
आइतबार नुवाकोटमा अलैंची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले सबै पक्षको सहमतिमा जेठ १५ भित्र स्थानीय निकायको निर्वाचन गर्न सरकार दृढ रहेको समेत बताएका छन्।
कार्यक्रममा मन्त्री केसीले संविधानका निर्माता कांग्रेस, एमाले र माओवादी केन्द्र संविधान जोगाउन एक हुनुपर्ने बताउँदै मधेसी मोर्चाको असन्तुष्टिलाई सम्वोधन गर्नेतर्फ पनि सबै गम्भीर हुनुपर्ने बताए। संविधानको पूर्ण कार्यान्वयन नहुँदा सबै पक्ष समस्यामा पर्ने भएकाले पार्टीगत आग्रह त्यागेर मुलुकलाई सही निकास दिन सबै प्रतिबद्ध हुनुपर्ने समेत मन्त्री केसीको भनाइ थियो।
कार्यक्रममा व्यवस्थापिका संसद् सदस्य जगदिश्वरनरसिंह केसीले निर्वाचन मिति घोषणामा भएको ढिलाइले आम जनतामा संशय पैदा भएको बताउँदै सबै पक्षको सहमतिमा जेठमै निर्वाचन हुने वातावरण बनाउनेतर्फ प्रमुख दलहरु गम्भीर नभए मुलुकले ठूलो समस्या व्यहोर्नु पर्ने बताए।