PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

शेख कमाल इन्टरनेशनल क्लब कपमा मनाङको विजयी सुरुवात



पहिलोपोस्ट

शेख कमाल इन्टरनेशनल क्लब कपमा मनाङको विजयी सुरुवात

चितागोङ : बंगलादेशमा भइरेहेको दोस्रो संस्करणको शेख कमाल इन्टरनेशनल क्लब कप २०१७ मा नेपालको मनाङ मर्स्याङदी क्लबले विजयी सुरुवात गरेको छ।

आइतबार बंगलादेशको चितागोङस्थित एमए अजिज स्टेडियमा भएको समूह बी को खेलमा मनाङले घरेलु क्लब मोहम्मेदन स्पोर्टिङ क्लबलाई २-० ले पराजित गर्‌यो। मनाङको जितमा विदेशी खेलाडी ओलावाले अफिज र विशाल राईले गोल गरे।

पहिलो हाफमा घरेलु क्लबले मनाङलाई गोल रहित बराबरीमा रोकेपनि दोस्रो हाफमा मनाङले २ गोल गर्दै शानदार जित हासिल गर्‌यो।

५३ औं मिनेटमा ओलावालेले रोहित चन्दको पासमा भलीमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाए। त्यसपछि पनि ओलावालेले गोल गर्ने दुई राम्रा अवसर खेले फालेका थिए।

बंगलादेशी क्लब बराबरी गर्ने प्रयासमा रहदा खेलको ८७ औं मिनेटमा विशाल राईले ओलावालेको पासमा उत्कृष्ट गोल गर्दै मनाङको अग्रता दोब्बर पारे।

मनाङका ओलावाले ओलाडिपो अफिज 'म्यान अफ दि म्याच' घोषित भए। उनले ५ सय अमेरिकी डलर प्राप्त गरे। 

जितपछि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पहिलो हाफमा केही गाह्रो भएपनि दोस्रो हाफमा तालमेल मिल्दा जित निकाल्न सकेको बताए। ‘घरेलु मैदानमा घरेलु टिमसँग खेल्दा पहिलो हाफमा केही असहज भयो। तर, दोस्रो हाफमा खेलाडीहरुले आपसमा तालमेल मिलाएर खेल्दा जित निकाल्न सहज भयो।’ प्रशिक्षक छिरिङले भने, ‘पहिलो हाफको तुलनामा दोस्रो हाफमा विपक्षी टिमको डिफेन्स कमजोर भएकाले जित हात पार्न सहज भयो।’

यस्तै कप्तान अनिल गुरुङ पहिलो हाफमा खेलाडीहरुबीच आपसमा तालमेल नमिल्दा स्कोर ननिस्केपनि दोस्रो हाफमा त्यसलाई सुधार गर्दा जित हात पार्न सफल भएको बताए।

शनिबारबाट सुरु भएको प्रतियोगिताको समूह बी मा मनाङ र मोहम्मेदनसँगै अफगानिस्तानको साहिन अस्माय र बंगलादेशकै चितागोङ अवहानी लिमिटेड रहेका छन्।

मनाङले समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानको साहिम अस्मायसँग तथा समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक टोली चितागोङ अवहानी लिमिटेडसँग खेल्नेछ। 

समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ। प्रतियोगिता मार्च २ सम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell