काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि आज अपरान्ह अस्पतालबाट घर फर्किएका छन्।
अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पारस ३ दिनपछि आज घर फर्किएका हुन्।
पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस विथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उनको क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्दाहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए।
उनलाई एकहप्तापछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ।
खड्काको उपचारमा डा. प्रबिण बिक्रम थापा, डा. धिरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टिम संलग्न रहेको थियो। एनेस्थेसियामा डा. मुरारीराज उप्रेति र डा. अर्चन अधिकारीको टिमले साथ दिएको थियो।
पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरीएकाले खड्का चाँडै खेल मैदानमा फर्कने उनको उपचारमा संलग्न चिकित्सकहरुको दावी छ।
गत शुक्रबार दिउँसो सहनै नसक्ने गरी पेट दुखेपछि खड्कालाई परिवारका सदस्यले अस्पताल पुर्याएका थिए। यसअघि गत वर्ष पनि आन्द्राका समस्या कारण पारसलाई थप उपचारका लागि दिल्ली लगिएको थियो।