PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

स्वास्थ्यकर्मीको आन्दोलनका कारण खोप कार्यक्रम प्रभावित



पहिलोपोस्ट

काठमाडौँ : स्वास्थ्यकर्मीको आन्दोलनका कारण राष्ट्रिय खोप कार्यक्रम र नियमित खोप कार्यक्रम प्रभावित भएको छ।
 
स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाले यही फागनु ६ र ७ गते विशेष ‘पोलियो खोप कार्यक्रम’ तय गरेको थियो। तर स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीको आन्दोलनका कारण उक्त कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको थियो। नयाँ समय निर्धारणका लागि बालस्वास्थ्यले मन्त्रालयमा फाइल पठाएको भए पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन। स्वास्थ्यसंस्थाबाट दिँदै आएको अन्य नियमित खोप कार्यक्रम पनि प्रभावित भएको बालस्वास्थ्य महाशाखा स्रोतले जानकारी दिएको छ।
 
स्वास्थ्य सेवा ऐनको ९ (ख) कार्यान्वयनको माग राख्दै पदस्थापन हुन नसकेका स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म कुनै सहयोग नगर्ने बताउँदै आएका छन्। सरकारले मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्यकर्मीको नयाँ दरबन्दी सिर्जना गरी पदस्थापन गर्ने घोषणा गरे पनि त्यसको कुनै तालमेल नमिलेको भन्दै स्वास्थ्यकर्मीले विरोध गरिरहेकाले सबै खोपका कार्यक्रम प्रभावित भएका छन्। खोप शाखाले खोप कार्यक्रमलाई प्रभावित नपार्न आन्दोलनरत स्वास्थ्यकर्मीसँग अपिल गरेको छ।
 
सरकारले नियमित रुपमा ११ प्रकारका खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। वार्षिक रुपमा छ लाख ५० हजार बालबालिकाले खोप पाएका छन्। ती ११ प्रकारका खोपका लागि वार्षिक तीन अर्ब ३० करोड लगानी हुँदै आएको छ। सरकारको ३० प्रतिशत र ७० प्रतिशत ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड एमिनाइजेसन (गाभी)ले सो खर्च व्यहोर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell