काठमाडौं : बैंकिङ् कसुरमा ७ करोड जरिवाना र ३ वर्ष कैद सजाय तोकिएका मदनबहादुर कार्की पक्राउ परेका छन्। कमसल धितो राखेर क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट कर्जा लिएर दुरुपयोग गरेको ठहर गर्दै अदालतले उनलाई जरिवाना र कैद सजाय सुनाए पनि उनी फरार थिए।
कार्कीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार कार्की समेत भएको बैकिङ्ग कसूर मुद्दामा तत्कालिन पुनरावेदन अदालत पाटनले २०७१ बैशाख २९ मा ७ करोड ६४ लाख ३ हजार जरीवाना र ३ बर्ष कैद हुने ठहर गरेको थियो।
कार्कीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको ब्युरोले जानकारी दिएको छ।
२०६६ असार ३० मा कार्कीले आफ्नो कमसल जग्गाको अत्यधिक मुल्याङ्कन गराई धितो राखी झुठ्टा परियोजना बनाई सो परियोजनाको लागि क्यापिटलबाट फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा कर्जा लिएर दुरुपयोग गरेका थिए ।
ब्यूरोले क्यापिटल लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठालाई २०७२ जेठ १४ , नवराज खत्रीलाई २०७२ जेठ १९ , तुलसाकुमारी धमलालाई २०७२ साउन १७ , भाइकृष्ण खड्कालाई २०७२ असोज २ र किरणकेशर नेपाललाई २०७३ माघ २४ मा पक्राउ गरेको थियो।
फोटो: सिआइबी