PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मन्त्रिपरिषद् बैठक : भएन निर्वाचनको मिति घोषणा, संविधान संशोधन अगाडि बढाउने निर्णय



सविन ढकाल

मन्त्रिपरिषद् बैठक : भएन निर्वाचनको मिति घोषणा, संविधान संशोधन अगाडि बढाउने निर्णय

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति तय गर्ने अपेक्षा गरिएको मन्त्रिपरिषद्को बैठक मिति घोषणा नगरी सकिएको छ। मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले आजै अर्को बैठक बस्ने सम्भावनाबारे बोल्न चाहेनन्। कार्की 'यसबारे पछि कुरा गरौँला' भन्दै बाहिरिए। कानुनमन्त्री अजयशंकर नायकले भने बैठक बस्न सक्ने सम्भावना रहेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान मात्रै आजै निर्वाचनको मिति घोषणा हुने बताएका थिए। प्याबसनको १३ वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले आजै मिति घोषणा हुने बताएका हुन्। 

मन्त्रिपरिषद्ले संसद्‍मा संविधान संशोधन विधेयकमाथिको छलफल अगाडि बढाउने निर्णय गरेको छ। संसद् बैठक भोलि १ बजे बस्दैछ।

त्यस्तै मन्त्रिपरिषद्ले स्थानीय तहको पुन:संरचनाका लागि सुझाव दिन गठित मन्त्री हितराज पाण्डे संयोजकत्वको समितिलाई थप सात दिनको समय दिएको छ। बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सुरेन्द्र कार्कीले सात दिनको समय दिइएको बताए। 'सरोकारवाला र विज्ञसँग छलफल गरेर सात दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई समय दिइएको छ', उनले भने। सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय भने गरेको छ। 

मधेसकेन्द्रीत दलहरुले जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने माग गर्दै आएको छ। मधेसी मोर्चाको बैठकसमेत आजै २ बजे बस्दैछ। सरकारले मोर्चाको निर्णयलाई पर्खिएको एक मन्त्रीले बताए।

मधेसी मोर्चाले संविधान संशोधन नगरी निर्वाचन घोषणा गरिए आन्दोलन गर्ने चेतावनी दिदैँ आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell