
काठमाडौं: फिल्म 'लम्फू'का लागि फेरि कलाकारहरु फाइनल भएका छन्। सलोन बस्नेत र मरिस्का पोखरेलको मुख्य अभिनय रहने भएको हो। यी दुईसँगै चाँदनी शर्मा र कवीर खड्काको नाम फिल्म युनिटले सार्वजनिक गरेको छ।
सन् २०१३ मै फिल्म युनिट फाइनल लाइनअप सकिएको भन्दै प्रि प्रोडक्शनको काममा लागेको थियो।
गोपालचन्द्र लामिछानेको निर्देशन रहने फिल्ममा निर्देशक तथा अभिनेता सुदर्शन थापा लिड अभिनेता घोषणा गरिएको थियो। तर थापाले प्रोजेक्टबाट खुट्टा झिकेपछि फिल्म निर्माण प्रक्रिया रोक्किएको थियो।
फिल्ममा कुसुम श्रेष्ठ 'तरकारीवाली'को पनि डेब्यु रहने निर्देशक गोपालचन्द्र लामिछानेले बताएका थिए। पहिलोपोस्टसँग कुराकानीका क्रममा भनेका थिए,'अफर गरेका हौं, उनले निर्णय दिएकी छैनन्।'
कास्टिङ क्रममा रहेका लामिछानेले आफूले खोजेजस्तै पात्र एकाएक चर्चामा आएकी तरकारीवालीमा देखेको तर्क गरेका थिए। तर अहिले घोषित कलाकारको लिस्टमा उनको नाम छैन।
कुसुम श्रेष्ठले आफू हाल आफ्नो पढाइलाई निरन्तरता दिने बताएपछि उनको ठाउँमा नयाँ पात्र राखिएको बताइएको छ। उनको पढाइ सकेर मात्रै अभिनय गर्ने घोषणासँगै फिल्म निर्माण युनिटले क्वेस्ट कलेज र नेपाली फिल्म निर्माण कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ का लागि छात्रवृत्ती प्रदान गरेको थियो।
फिल्म लम्फूको हाल वर्कसप चलिरहेको छ। फागुन दोस्रो हप्ताबाट फिल्म फ्लोरमा उत्रँदैछ। शक्तिवल्लभ घोरासैनीको निर्माण रहने फिल्ममा अन्य केही कलाकार टुङ्गो लागेका छैनन्।