PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

दुई हजार किलो अवैध जडीबुटीसहित तीन व्यापारी पक्राउ



रासस

जाजरकोट : अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ।
 
जिल्ला वन कार्यालयको छुट पुँर्जीविना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो।
 
प्रहरीले उक्त जडीबुटी दल्लीस्थित इलाका वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताए। अवैध रूपमा ट्र्याक्टरमा हाली जाजरकोटबाट नेपालगन्जतर्फ लैजान खोजिएको उक्त जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए।
 
पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको र अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ।
 
स्रोत साधन तथा जनशक्ति अभावमा जडीबुटी चोरी निकासी नियन्त्रण गर्न कठिन भएको जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए। चोरी निकासी हुने नाकामा पुग्न ३,४ दिन लाग्ने र नजिकमा रेन्ज पोस्ट पनि नहुँदा थप समस्या भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell