
बलिउड अभिनेत्री आलिया भट्ट पहिलोपटक अमिताभ बच्चनसँग अयान मुखर्जीको फिल्ममा देखिने भएकी छिन् । नयाँ प्रोजेक्टबारे आलियाले बिबिसी हिन्दीसँग कुरा गरेकी हुन्।
भनिन्,'अमिताभ सर अझै जवान हुनुहुन्छ। उहाँसँग कुरा गरेको साथीसँग कुरा गरेको जस्तो लाग्छ।'
आफू र बच्चनले धेरै पटक एकअर्कासँग काम गर्ने इच्छा व्यक्त गरे पनि निकैपछि सो चाहना पूरा हुन लागेको उनले जनाएकी छिन्। अमिताभसँग आफ्नो भेटबारे बताउँदै आलिया बोलिन्,'मैले बच्चन सरलाई अभिनेत्री भएपछि मात्र भेटें। सुरुसुरुमा भेट्दा निकै डर लाग्थ्यो। तर अहिले थाहा भयो उहाँ त हामीसँग साथीजस्तै व्यवहार गर्नुहुन्छ।'
आलियाले बताए अनुसार युवा कलाकारहरुलाई बच्चनले लेखेको पत्रको प्रतीक्षा हुन्छ। राम्रो काम गर्ने कलाकारलाई उनले पत्रमार्फत बधाई तथा धन्यवाद दिने गरेका छन्। उनले भनिन्,'मलाई अहिलेसम्म दुईवटा पत्र दिनुभएको छ। एउटा हाइवे र अर्को उड्ता पंजाबमा गरेको अभिनयका लागि।'
आलियाले आफूलाई सधैं बच्चनको पत्रको प्रतीक्षा रहने गरेको कुरा उनले खुलाइन्।
अयान मुखर्जीको फिल्ममा आलिया भट्ट रणबीर कपूर र जोया अख्तरको फिल्ममा रणवीर सिंहको अपोजिटमा देखिने तयारीमा छिन्।
दुई रणबीरको बारेमा बोल्दै उनले भनिन्।'रणबिर कपूरको त म फ्यान हुँ। ऊ सेटमा फौजीले जसरी काम गर्छ। रणबीर सिंहचाहिँ सुटपछि पनि पात्रलाई आफूबाट उतार्दैन।'
कमजोर आइक्युका कारण ट्रोल बन्ने गरेकी आलियालाई अब ति ट्रोल बानी परेको छ। भन्छिन्,'मेरो व्यक्तित्वको कमजोर पाटो हो। मैले स्विकार्नु पर्छ।'
उनले आफ्नो कमजोर आइक्युका कारण फिल्ममा कुनै असर नगरेको समेत बताइन्।
शशांक खैतानद्वारा निर्देशित "बद्रीनाथ की दुल्हानिया"मा आलिया भट्ट वरुण धवनको अपोजिटमा देखिँदैछिन्। फिल्म १० मार्चमा सार्वजनिक हुँदैछ।