प्रिमियर लिग क्लब एभरटनबाट लोनमा इटाली पुगेका जेरार्ड डेउलोफको निर्णायक गोलको मद्दतमा एसी मिलानले आइतबार फियोरेन्टिनालाई पराजित गरेको छ।
घरेलु मैदान सानसिरोमा भएको खेलमा मिलानले फियारेन्टिनालाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको हो।
१६ औं मिनेटमा जुराज कुच्काले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। तर त्यसको चार मिनेटपछि नै निकोला कालिनिकले बराबरी गोल फर्काए।
३१ औं मिनेटमा जेरार्डले गोल गर्दै मिलानलाई अग्रता दिलाए र उक्त गोल नै मिलानको जितमा पर्याप्त बन्यो। यसै सिजनको जनवरीमा लोनमा मिलान पुगेका जेरार्डको यो पहिलो गोल समेत हो।
जितपछि २५ खेलबाट ४४ अंक जोडेको मिलानले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ। सातौं स्थानमा रहेको मिलानले फियोरेन्टिना माथि ४ अंकको स्पष्ट अग्रता बनाएको छ भने छैटौं स्थानको लाजियो भन्दा ३ अंकले पछि छ।
आइतबार भएका अन्य खेलहरुम दोस्रो स्थानको रोमादेखि छैटौं स्थानसम्म रहेका लाजियोले जित हात पारेका छन्। रोमाले टोरिनोलाई ४-१ ले हरायो भने तेस्रो स्थानको नेपोलीले चिएभो भेरोनालाई ३-१ ले पराजित गर्यो।
यस्तै चौथो स्थानको इन्टर मिलानले बोलोग्नालाई १-० ले हराउँदा छैटौं स्थानको लाजियोले एम्पोलीमाथि कमब्याक जित दर्ता गर्यो।
जितपछि रोमाको २५ खेलबाट ५६ अंक भएको छ भने समान खेलबाट नेपोलीको ५४ अंक छ। यस्तै इन्टर जितपछि समान ४८ अंक भएपनि एटलान्टालाई पछि पार्दै चौथोमा उक्लेको छ भने एटलान्टा पाँचौमा झरेको छ। २५ खेलबाट ६३ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा आसिन छ।