- अशोक शेरचन
काठमाडौँबाट ललितपर पुग्ने धेरैवटा नाकाहरुमध्येको एउटा नाका हो- थापाथली। थापाथली पुल कटेर केही पर पुगेपछि कानदेवतास्थान हुँदै एउटा बाटो सानेपा मोडिन्छ। कानदेवतास्थानलाई सम्झेर आजपर्यन्त कति धेरै यात्रुले आफ्नो शिर झुकाएर रक्षाका लागि आर्शिवाद मागे होलान्।
कतिका मनोकांक्षा पूरा भए होलान्, कतिका बाँकी नै रहे होलान्। कानदेवतास्थानको महिमाको वर्णन धेरैले धेरै तरिकाले गर्ने गर्दछन्। सायद यिनको पनि प्रत्यक्ष परोक्ष रुपमा उपत्यका र यहाँका बासिन्दाहरुको समृद्धिका लागि अन्य देवीदेवताकोझैँ कुनै न कुनै रुपमा केही न केही देन पक्कै होला। तर आज मैले यहाँ चिनाउन खोजेको र चिन्न खोजेको पात्र भगवान नभई त्यसै मन्दिरको खुल्ला परिसरमा दशकौंदेखि सेवा गरिरहेका सेवक अर्थात् कानदेवताको कर्मवीर दिलबहादुर हो।
उमेरले ७ दशक टेकेका यिनी हरेक दिन बिहान एउटा पुरानो मैलो झोला बोकेर मन्दिर पुग्ने गर्दछन्। रोगहरुले थलिएर बसेको अवस्थामा बाहेक यिनको दिनचर्यामा कुनै परिवर्तन आउँदैन। यिनको झोलामा केही मुठ्ठी चामलका गेडाहरु, फूल, अक्षता, पाति र भोक लाग्दा खानका लागि केही खस्रो मसिनो खानेकुरा हुन्छ। यहाँ हरेक दिन विभिन्न इच्छा र आकांक्षा लिएर आउने भक्तजनहरुलाई यिनले त्यही फूल, अक्षता, पाति बेच्ने गर्दछन्। तिनै भक्तजनहरुले चढाएको फल, प्रसाद र भेटी सिमल्छन् र साँझ घर फर्किन्छन्।
राजनेताहरुले बिरामी हुँदा पाउने सेवा सुविधाका बारेमा उनलाई कुनै जानकारी छैन। यति छाडेर त सामान्य सुविधाहरुका लागि पनि उनी आशावादी छैनन्। उनी ठान्दाहुन्, त्यो सुविधा पाए देशकै बजेट खलबलिन्छ।
नुवाकोट जिल्ला, ककनी गाविस ठेगाना बताउने यिनी आफूलाई घरबारविहीन नै ठान्छन्। परिवारका सदस्यहरु आफूसँग कोही नरहेको र गाउँ पनि नगएको बताउँछन्। वृद्धभत्तालगायतका सरकारी सुविधाहरु नपाएको बताउने यिनी यहाँभन्दा पहिले घरमा काम गर्ने गरेको बताउँछन्। सानातिना बिमारीबाहेक ठूलो रोगले नसताएका यिनलाई मन्दिर परिसर वरपरका पसलहरुबाट कहिले रोटी, पाउरोटी, दुनोट, चिया आदि किनेर खाने गर्दछन्। दिउँसै मन्दिर परिसरको चिसो भुइँमा थकाइ मार्न उनी आनन्दको निद्रा सुत्छन्।
राजधानीकेन्द्रित विकासे संस्थाहरु र सरकारी निकायहरुको नजरबाट यिनी राजधानीकै व्यस्तचोकमा ओझेल परेका छन्। जिन्दगीदेखि कुनै गुनासो नरहेको बताउने यिनी सरकार र गैरसरकारी संस्थाहरुसँग तथा सडकमा मागेर खान नपरेकोमा दंग छन्। सायद यिनको नामको सरकारी भत्ता गाउँमा कसैले बुझिर राइराखेको पनि हुनसक्छ।
कानदेवतास्थानमा विशेष गरी सम्वृद्धि तथा सुस्वास्थको कामना गरी तोरीको तेल भगवानको पाउमा अर्थात भुइँमा खोपिएको खोपिल्टोमा श्रद्धाका साथ चढाउने गरिन्छ। भनिन्छ, कानको समस्या हुनेहरुले पनि यहाँ आएर ढोगभेट गरे निको हुन्छ। सायद त्यसैले होला यी दिलबहादुरले पनि यो उमेरमा सोधिएका कुराहरुको जवाफ स्पष्ट रुपमा फर्काउँछन्।
टेकुनजिकै फोहरमैला संकलन गरिने ठाउँनेरको पाटीमा बास बस्ने यिनले सायदै सुने होलान् सरकारको जनता आवास योजनाबारे। हुन त कागजमा सीमित यस्ता योजनाबाट आजसम्म विरलै लाभान्वित भएका छन्। सुकुम्बासीमा नाम लेखाउन पनि बलियो राजनीतिक भर चाहिने यस मुलुकमा यिनलाई राजनीतिक परिवर्तनले पनि नयाँ नेताहरुलाई सत्ताबाहेक आमजनताहरुलाई केही उपलब्धि दिएजस्तो लाग्दैन। यिनलाई नेपालको राजनीतिक परिवर्तन आम जनताहरुलाईझैँ बेल पाक्यो हर्ष न विस्मात्झैँ लाग्दछ। र यिनी भन्छन्- 'जून जोगी आए पनि कानै चिरेको।'
मन्दिर आउने भक्तजनहरुको मोबाइल फोन बजेको र आफन्तसँग बोलेको सुन्दा यिनको मन भरङ्ग हुन्छ। मनमा गम्छन्, मेरा पनि आफन्तसँग यसरी कुरा गर्न पाए, सुखदु:ख साँट्न पाए, मनको व्यथा पोख्न पाए। तर तरंगित मन मोबाइल फोनको तरगंसँगै हराउँछ र मनभित्रका व्यथा मनभित्रै गुम्सिन्छन्। र पनि यिनी निष्फ्रिक्री, निश्चल र निर्मल हाँसो हाँसिरहन्छन्।
नागरिकताको फोटोकपी सम्हालेर राखेका यी दिलबहादुरले कानदेवताको सेवा अझै केही वर्ष गर्नेछन्। यिनी र यस्तै हजारौं दिलबहादुर नेपालका विभिन्न स्थानमा योभन्दा पनि दयनीय अवस्थामा देख्न, भेटन र भोग्न पाइन्छ। नेपालको नागरिकको हैसियतले सरकारसँग केही नमागे पनि सरकार यिनीहरुप्रति जिम्मेवार हुनु अत्यन्त जरुरी छ। भूतसँग कुनै गुनासो नरहेका, भविष्यको कुनै चिन्ता नगरेका दिलबहादुर र यीजस्तै हजारौं दिलबहादुर सरकारको असहयोगी रवैयाका बाबजूद वर्तमानसँग हर्षित नै देखिन्छन्।
दिलका अत्यन्तै धनी छन् यी र यिनीजस्तै हजारौं दिलबहादुरहरु!