धरान : काठमाडौंको सिएमजी क्लब संकटा धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको तेस्रो क्वाटर फाइनल खेलमा संकटालाई जित दिलाउन राज पौडेलले निर्णायक गोल गरे।
संकटाले अब बुधबार हुने पहिलो सेमिफाइनलमा रुपन्देही-११ सँग प्रतिस्पर्धा गर्नेछ।
खेलको सुरुवात देखि नै आक्रमक बनेको संकटाको लागि ४० औं मिनेटमा राज पौडेलले गोल गर्दै अग्रता दिलाएको थिए। सजिन थापाको पासमा राज पौडेलले गोल गरे।
खेल अवधीभर संकटाले ३ र एपीएफले ४ वटा गोलका अवसर गुमाए। १७ औं मिनेटमा संकटाका सुशिल केसीले प्रहार गरको बललाई एपएफका मिलन राईले उत्कृष्ट बचाउ गरे। ३६औं मिनेटमा संकटाका अफ्रिकी खेलाडी लाओल ओलाखान र ६२औं मिनेटमा सजिन थापाले गोल गर्नबाट चुके।
संकटाका गोलरक्षक वियन श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले खेलको ४२औं, ७०औं र ८९औं मिनेटमा एपीएफका टोप विष्टको प्रहारलाई बिफल पारे भने ५५औं मिनेटमा रुपक लामाको प्रहार पनि बचाउ गरे।
पराजति टोली एपीएफका रमेश दंगाल खेलको 'म्यान अफ दि म्याच' चुनिए। उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे।
जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्ना खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरेका कारण जित हात पारेको बताए। खेल राम्रो खेल्दा पनि एपीएफले गोल गर्ने अवसर चुकाउँदा आफ्नो पक्षमा नतिजा आएको खड्गीले बताए।
एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीले उत्कृष्ठ खेल प्रदर्शन गरेपनि चारवटा गोल गर्ने अवसर गुमाउँदा पराजित हुनु परेको प्रतिक्रिया दिए।
संकटा र एपीएफले गत शनिबार सर्लाहीमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेका थिए।
प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल पुलिस क्लब र भारतको युनाईटेड सिक्किम फुटबल क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुने छ।