धनगढी : सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले यसै वर्षदेखि आयोजना गर्न सुरु गरेको ‘खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अब मोफसलकै सर्वाधिक नगद पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगिताको दोस्रो संस्करणदेखि नगद पुरस्कारमा वृद्धि गरिएसँगै काठमाडौं बाहिरको महँगो प्रतियोगिता बन्ने भएको हो। आयोजकले अर्को वर्षको विजेताको लागी नगद पुरस्कारमा दोब्बर वृद्धि गरेको छ।
आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्डकप प्रतियोगिताका विजेतालाई ११ लाख ११ हजार १११ तथा उपविजेतालाई पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।
अहिले मोफसलको सर्वाधिक नगद पुरस्कारी राशी रहेको प्रतियोगिता झापा गोल्डकप हो। यसै वर्ष भएको झापा गोल्डकपको दोस्रो संस्करण च्याम्पियन बनेको मनाङले नगद ७ लाख पुरस्कार हात पारेको थियो।
पहिलो संस्करणाको आयव्यय विवरण सार्वजिनक गर्ने क्रममा अध्यक्ष हमालले उक्त घोषणा गरेका हुन्। यसअघि प्रतियोगिताको समापनको क्रममा पनि उनले यसको घोषणा गरिसकेका थिए।
गत पुस २१ देखि माघ १ गतेसम्म सञ्चालन भएको पहिलो संस्करणको विजेता मनाङ मर्स्याङदीलाई ५ लाख तथा उपविजेता सङ्कटालाई दुई लाख ५१ हजारसहितको पुरस्कार दिइएको थियो।
यस्तै आयव्यय विवरणसमेत सार्वजनिक क्रममा हमालले पहिलो संस्करण सम्पन्न गर्न ७८ लाख १६ हजारको खर्च भएको बताए।
अझै २६ लाख भन्दा बढी उठ्न बाँकी र २१ लाख भन्दा बढी तिर्न बाँकी रहेकाले सबै रकम उठेमा झण्डै ५ लाख नाफा हुने समेत हमालले जानकारी दिए।