काठमाडौं : सरकारले विजनेश दिन नसकेका कारण स्थगित व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ। तीन साताको स्थगनपछि बैठक आज बस्न लागेको हो। दिउँसो १ बजे बैठक बोलाइएको छ।
मन्त्रिपरिषद्को सोमबारको निर्णय अनुसार आजबाट संसदमा विचाराधीन रहेको संविधान संशोधन विधेयकमाथि संसद्मा सैदान्तिक छलफलल सुरु हुनेछ। सैदान्तिक छलफलका लागि संशोधन प्रक्रियामा असन्तुष्ट रहेको नेकपा एमालेले पनि सकरात्मक संकेत दिएको छ।
एमालेले निर्वाचनको मिति घोषणा गरे संशोधन प्रस्तावको छलफल अघि बढ्न दिने बताउँदै आएको थियो। सरकारले सोमबार वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै एमाले छलफलका लागि सकरात्मक देखिएको हो।
संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा भने संशोधन छलफल समावेश छैन। दलीय सहमति बनेमा कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार कार्यसूची हेरफेर हुनेछ।
कार्यव्यवस्था परामर्श समिति बैठक १२ बजे बोलाइएको छ।
सचिवालयको सम्भावित कार्यसूची अनुसार संसद्मा राष्ट्रपतिबाट निर्वाचन विधेयक प्रमाणीकरणको जानकारी पत्र पढेर सुनाइनेछ। यस्तै, सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सम्वन्धी विधेयक संसद्मा पेश हुनेछन्।
विधायन समिति सभापति गंगा चौधरीले समितिको बार्षिक प्रतिवेदन संसद्मा पेश गर्ने कार्यसूची छ। भने, महाभियोग सिफारिस समितिका तर्फबाट ज्येष्ठ सदस्य कुमारी लक्ष्मी राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको छानविन प्रतिवेदन पनि संसद्मा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।