
थियो वाल्कोटले आर्सनलको लागि करियरको सयौं गोल पुरा गरेको दिन आर्सनल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको प्रिक्वाटरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलले सटन युनाइटेडलाई २-० ले हरायो। आर्सनलको जितमा लुकास पेरेज र वाल्कोटले १/१ गोल गरे।
पेरेजले २६ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ५५ औं मिनेटमा वाल्कोटले लण्डन क्लबको अग्रता दोब्बर पारे।
आर्सनलले अब क्वाटरफाइनलमा नेशनल लिग साइड लिनकन सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
यससँगै वाल्कोट आर्सनलको लागि सय गोल गर्ने १८ औं खेलाडी बनेका छन् भने जोए बेकरसँगै संयुक्त रुपमा सूचीको १७ औं स्थानमा छन्। आर्सनलको सर्वाधिक गोलकर्ता थिएरी हेनरी २२८ हुन्।
सन् २००५ मा साउथह्याम्पटनबाट सिनियर क्लब करियर सुरु गरेका वाल्कोट त्यसको एक वर्ष पछि आर्सनल पुगेका थिए। उनले २००७ को लिग फाइनलमा चेल्सी विरुद्ध आर्सनलका लागि पहिलो गोल गरेका थिए।