PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मधेसी मोर्चाको आन्दोलनबाट बिच्कियो एमाले



पहिलोपोस्ट

मधेसी मोर्चाको आन्दोलनबाट बिच्कियो एमाले

काठमाडौँ : सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेको विरोधमा मधेसी मोर्चाले आन्दोलन घोषणा गरे पछि नेकपा एमाले बिच्किएको छ। सरकारले मिति घोषणा गरे लगत्तै मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो। मोर्चाको आन्दोलनले एमालेले शुरु गरेको मेची-महाकाली अभियान प्रभावित हुने भएपछि एमाले मोर्चासँग विच्किएको हो।

एमालेले फागुन २१ देखि चैत ४ सम्म मेची-महाकाली अभियान शुरु गर्दैछ। अभियानको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ‍ओलीले अभियानमा बाधा खडा नगर्न मोर्चालाई चेतावनी दिए।

मधेसी मोर्चासँग चिसो सम्बन्ध रहेको एमालेले मधेसमा बिग्रिएको आफ्नो छवि सुधार्न मेची-महाकाली अभियानको घोषणा गरेको थियो। संविधान संशोधन नहुँदै सरकारले निर्वाचन घोषणा गरेपछि मधेसी मोर्चाले आन्दोलन घोषणा गरेका कारण एमाले आफ्नो कार्यक्रम प्रभावित हुने भन्दै चिन्तित देखियो।

मोर्चाको कार्यक्रमअनुसार आज मधेसमा राँके जुलुस निकाल्ने, ११ गते मधेस बन्द तथा १२ गतेदेखि १५ दिनसम्म भण्डाफोर अभियान संचालन गर्ने उल्लेख छ।

भण्डाफोर अभियान एमालेको मेची-महाकाली अभियानसँग जुध्ने भएपछि ओलीले पहिले नै अवरोध नगर्न चेतावनी दिएका हुन्। आफ्नो अभियान कसैका विरुद्ध नभएको भन्दै उनले व्यवधान हुनेगरी कार्यक्रम नराख्न आग्रह गरे।
 
'हाम्रो पूर्वनिर्धारित कार्यक्रम हो, कसैले भाँजो हाल्न खोजे, अवरोध गर्न खोजे, व्यवधान हाल्ने दुस्चेष्टता गरिए एमालेले ती कुरा दृढतापूर्वक अस्वीकार गर्न बाध्य हुनेछ,'ओलीले भने, 'कसैले व्यवधान नगर्नुस् अभियान कसैका विरुद्धमा हैन यो देश र जनताका पक्षमा छ।'

उनले कुनै पनि नाम र बहानामा व्यवधान हुने काम नगर्न राजनीतिक दल संघसंस्था र व्यक्तिहरुलाई आग्रहसमेत गरे।

'एमाले मेची-महाकाली अभियान हाइवेमा प्रत्येक नगर र गाउँमा तीन दिनअघि जुलुस हुन्छ,' अध्यक्ष ओलीले भने, 'त्यसमा जुध्नेगरी कार्यक्रम नराख्न र अवरोध नगर्न म सम्बन्धित पक्षलाई आग्रह गर्छु।' संविधान संशोधनको विरुद्धमा रहेको एमालेलाई मधेसी दलले मधेसमा अवरोध पुर्‍याउने त्रास रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell