PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

राप्रपा महाधिवेशनमा सक्रिय तीन कलाकार



पहिलोपोस्ट

राप्रपा महाधिवेशनमा सक्रिय तीन कलाकार

काठमाडौं: कला क्षेत्रमा संलग्न तीन व्यक्तित्वलाई राप्रपा महाधिवेशनले निकै छोएको छ। अभिनेत्री रेखा थापा, गायिका कोमल वली र फिल्मी पत्रकार प्रकाश सुवेदी अहिले राप्रपाको महाधिवेशनमा चुनावी मैदान होमिएका छन्। केन्द्रीय सदस्यमा उम्मेद्वारीसमेत दिएका यी तीन कलाकार केही दिनयता राजनीतिक साथ र सहयोग जुटाउनमा लागिपरेका छन्। 


राष्ट्रिय सभागृहमा आज भइरहेको निर्वाचनमा यी तीनै जना कलाकार केन्द्रीय सदस्यका लागि भोट मागिरहेका छन्। फिल्मी पत्रकार तथा कलाकारसमेत रहेका प्रकाश सुवेदीले आफ्नो निर्वाचन अनुभव सुनाउँदै भने, 'जित र हारभन्दा भेटघाट, भलाकुसारी तथा चिनजानको माहोल बनेको छ।'



सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाएकाले पनि आफू हर्षित रहेको कुरा उनले फेसबुकमा उल्लेख गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, 'बिल्कुलै नयाँ अनुभूति भैरहेको छ। ज्यादै हर्षित र प्रफुल्लित छु। देश तथा विदेशसम्म रहेका साथीभाइ, दिदीबहिनी, आमाबुवा सबैको आशिर्वाद, शुभेच्छा पाइरहेको छु।' 

रजतपट हुँदै चित्रपट नामक कार्यक्रमका निर्माता एवं प्रस्तोता रहिसकेका उनले एकाएक राजनीतिमा हाम फाले। अहिले चुनावी मैदानमा छन्। अभिनेत्री रेखा थापालाई पनि राजनीतिले निकै उत्साही बनाएको छ। महाधिवेशनमा सक्रिय भएदेखि नै उनी समर्थन जुटाउन सामाजिक सञ्जालमा फोटोहरु पोस्ट गरिरहेकी छन्। यसबाट पनि राजनीतिप्रतिको उनको झुकाव र समर्पण प्रस्ट देखिन्छ। 


रेखा थापा गत मंसिर २७ गते माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गरेकी हुन्। उनले विगत चार वर्षदेखि देशको राजनीति र यहाँका पार्टीहरुको क्रियाकलाप अध्ययन गरेर आफू राप्रपामा संलग्न भएको बताएकी थिइन्। उनले त्यस बेला भनेकी थिइन्, 'राप्रपा मेरो विचार र व्यवहारसँग मिल्दो पार्टी हो। अब जीवनभर यही पार्टीमा लागेर देश र जनताको हितका लागि काम गर्नेछु।'



मंसिर ६ गते राप्रपा नेपाल र राप्रपा एकीकरण घोषणा हुँदा कार्यक्रमको उद्घोषण गरेकी गायिका तथा रेडियो नेपालकी वरिष्ठ समाचार प्रस्तोता वलीले पनि त्यही दिन पार्टी प्रवेश गरिन्। 

सरकारी सेवामा आबद्ध रहेकी वली प्रत्यक्ष राजनीतिमा आएपछि उनका विषयमा विभिन्न टिका टिप्पणीहरु भए। त्यही विषयमा रेडियो नेपालले पनि चासो राख्दै स्पष्टीकरण मागेपछि उनले आफू कुनै राजनितिक पार्टिमा नभएको स्पष्टीकरण बुझाएकी थिइन्।

स्पष्टीकरणमा उनले लेखेकी थिइन्– 'मैले हालसम्म नेपालमा रहेका कुनै पनि राजनीतिक दलको वैधानिक सदस्यता नलिएको ब्यहोरा सम्बन्धित निकायलाई जानकारी गराउँदछु। आफू सञ्चारकर्मी भएको नाताले सबै राजनीतिक दलको निम्तो बमोजिम कार्यक्रमहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने गरेको ब्यहोरा सहर्ष जानकारी गराउँदछु।'

महाधिवेशन सुरु हुनु अघिसम्म पनि उनले सार्वजनिक रुपमा राप्रपासँग आफू जोडिएको खुलाउन चाहिनन्। सोही कारण प्रचारको हकमा पनि वली थापा र सुवेदीभन्दा कम सक्रिय देखिन्थिन्। उनी रेडियो नेपालको जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन्। मङ्गलबार जारी केन्द्रीय सदस्यको निर्वाचनको नतिजा बेलुकी नै सार्वजनिक हुनेछ। 

गत फागुन दुई गते  कलाकार मदनदास श्रेष्ठ, रामचन्द्र अधिकारी, सम्झना बुढाथोकी, अयुव केसी, प्रदीप बाँस्तोलालगायतका करिब ३ दर्जन कलाकारले एकसाथ राप्रपा पार्टीमा प्रवेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell