
काठमाडौं: आजका लागि तोकिएको संसदको बैठक स्थगित भएको छ। संविधान संशोधन विधेयक अगाडि बढाउने विषयमा सहमती हुन नसकेपछि बैठक बुधबार दिउस २ वजेसम्मका लागि स्थगित भएको हो। बैठक मंगलबार दिउस १ वजेका लागि तोकिएको थियो।
संसद बैठक शुरु गर्नु अगाडि कार्यव्यवस्था समितिको बैठक बसेको थियो। बैठकमा मधेसी मोर्चाका तर्फबाट कार्यसूचिमा संविधान संशोधन विधेयक राख्न माग गरेका थिए। एमालेले छलफलपछि मात्रै कार्यसूचीमा राख्ने अडान लिएपछि बैठक सरेको हो।

'मोर्चाका तर्फबाट संविधान संशोधन विधेयक कार्यसूचीमा राख्न माग भयो, हामीले छलफलपछि मात्रै भन्ने धारणा राख्यो' एमाले मु्ख्य सचेतक भानुभक्त ढकालले भने' प्रधानमन्त्रीले सर्वदलिय बैठक डाक्नु भएकाले त्यसमा हुने छलफलको आधारमा कार्यसूची बनाउने सहमती भयो।'
आइतबारको संसद बैठकका लागि सभामुख ओनसरी घर्ती आफ्नो भारत भ्रमण छोट्याएर स्वेदेश फर्किएकी थिइन्। सरकारले मधेसी मोर्चाका नेतालाई मंगलबारबाट संसद बस्ने र त्यसैबाट संविधान संशोधन प्रस्ताव अगाडि बढ्ने आश्वासन दिएका थिए।