
काठमाडौं : सातदोवाटो डोजो ललितपुरले आगामी वर्ष वैशाखमा 'आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता-२०७४' गर्ने भएको छ।
नेपाल कराते महासंघको तत्वाब्धान र सातदोवाटो डोजाकोको आयोजनामा २०७४ वैशाख २१ खेदि २३ गतेसम्म राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।
नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुद, इन्डानेसियामा हुने १८ औं एसियाली खेलकुद र जापानमा हुने २०२० टोकियो ओलम्पिकलाई समेत मध्यनजर गर्दै यस प्रतियोगिता गर्न लागेको संयोजक दीपक श्रेष्ठले बताए।
महिलातर्फ ८ र पुरुषतर्फ ९ गरी कूल १७ विधामा प्रतिस्पर्धा हुनेछ। जसमा महिलातर्फ ४५, ५०, ५५, ६१, -६८ र +६८ माथिको तौलसमूह, एकल काता र टीम काता समावेश हुनेछ भने पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, -८४ र +८४ माथि, एकल काता र टीम कातामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा तीन विभागीय टीम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सँगै पाँच विकास क्षेत्रका खेलाडीलाई आमन्त्रण गरिनेछ।
हरेक टीममा महिला १० र पुरुष ११ खेलाडी गरी कूल २१ खेलाडी हुने तथा कूल १६८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ।
खेलाडीले १७ स्वर्ण, १७ रजत र ४२ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन्। यस्तै प्रतियोगितामा टीम च्याम्पियन हुने नगद ५० हजार प्राप्त गर्नेछन भने दोस्रो र तेस्रो हुने क्रमशः ३० र २० हजात हात पार्नेछन्।
यस्तै उत्कृष्ट खेलाडीलाई पनि आकर्षक गिफ्ट ह्याम्परद्वारा पुरस्कृत गरिने संयोजक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको लागि अनुमानित २५ लाख खर्च हुने५।
नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगितालाई टार्गेट गर्दै यस्ता विभिन्न खालको प्रतियोगिता गर्दै लैजाने र यस प्रकारको प्रतियोगिताले नयाँ प्रतिभालाई बाहिर आउन बाटो खुल्ने बताए।
गुरुङले राम्रो प्रदर्शन गर्नेहरुले राष्ट्रिय टीममा समेत स्थान बनाउन सक्ने पनि बताए।