PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

सूचना विभागलाई प्रविधिमैत्री बनाइनुपर्छ : सञ्चारमन्त्री



रासस

सूचना विभागलाई प्रविधिमैत्री बनाइनुपर्छ : सञ्चारमन्त्री

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना विभागलाई आधुनिक सूचना प्रविधिमैत्री बनाइनुपर्ने औँल्याएका छन्।
 
सूचना विभागको आव २०७२/७३ को वार्षिक समीक्षा तथा वार्षिक प्रतिवेदन–२०७३ सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सूचना व्यवस्थापन, पत्रिका अभिलेखीकरण र पत्रकार परिचयपत्र वितरणलाई व्यवस्थित र प्रभावकारी तुल्याउन विभागलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताए।
 
हालको विभागको कार्यलाई क्रमशः गाउँपालिकास्तरसम्म पुर्‍याई जनतालाई सूचनाको हकको सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै विभागलाई सूचनाको केन्द्रका रुपमा विकास गर्न लागिएको जानकारी दिए।
 
सञ्चारमन्त्री कार्कीले हुलाक सेवा विभागलाई प्रभावकारी बनाउन रेडियोको दर्ता, लाइसेन्स, फ्रिक्वेन्सी वितरण र नवीकरणको जिम्मा जिल्ला हुलाकलाई दिइने तयारी भइरहेको बताए।
 
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विभागलाई नेपाल सरकारबाट भएका निर्णयको एकै ठाउँबाट सबैलाई सूचना प्राप्त हुनेगरी सूचना केन्द्रका रुपमा स्थापना गर्न लागिएको जानकारी दिए।
 
'विभिन्न मन्त्रालयले विभिन्न नीतिगत काम गरिरहेका हुन्छन्, नयाँ पुस्तिका निकालेका हुन्छन् ती कुरा मन्त्रालयबाट वितरण हुन्छ, सबै सूचना विभागबाटै वितरण गर्न सकियो भने सरोकारवालालाई सहज हुन्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell