
काठमाडौँ : प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा अधिकांश सहभागी दलहरुले निर्वाचन घोषणाको स्वागत गरेका छन्। संयुक्त मधेसी मोर्चाहितका ११ दलले बहिष्कार गरेको बैठकमा सहभागी दलहरुले स्थानीय निर्वाचनको मिति घोषणाको स्वागत गरेका हुन्।
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले तीनवटा विषय राखेर बैठकमा फ्लोर ओपन गरेका थिए। उनले निर्वाचन मिति घोषणा, संविधान संशोधन र स्थानीय तह पुनर्संरचनाका विषयमा आम सहमति आवश्यक रहेको भन्दै सबैलाई लचिलो हुन आह्वान गरेका थिए। उनले तीनवटा विषय देशको भविष्यलाई असर गर्ने विषय भन्दै त्यसमा सबै दलको जिम्मेवार भूमिकाको अपेक्षा गरेको बताएका थिए।
'मधेसी मोर्चाका साथीहरु अन्तिम समयमा आउनुभएन, उहाँहरु पनि आउनुभएको भए बैठक अझ बढी फलदायी हुने थियो,' बैठक पछि प्रधानमन्त्रील भने, 'आजको बैठकबाट निर्वाचनमा आम सहमति भयो, अब भोलिदेखि संशोधन विधेयकको प्रक्रिया अघि बढ्छ।' उनले संशोधन विधेयक अघि बढेपछि मोर्चा पनि आउने र निर्वाचनको प्रक्रिया उत्साहपूर्ण ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन मिति घोषणाको सबै दलबाट स्वागत भएको भन्दै मधेसी मोर्चालाई पनि ल्याउने बताए। 'बैठकमा एकदमै राम्रो कुरा भयो, सबै पार्टीले चुनावको स्वागत गरे,' सभापति देउवाले भने, 'संविधान संशोधन विधेयक अघि बढेपछि मधेसी मोर्चा पनि चुनावमा आउने छ।' देउवाले संविधान संशोधन विधेयकमा भोट हाल्ने बेलासम्म एमाले पनि संशोधनका पक्षमा आउने पनि दाबी गरे।
प्रमुख प्रतिपक्षी एमालेले पनि सरकारले गरेको निर्वाचन घोषणालाई स्वागत गर्दै अब निर्वाचनका लागि दृढतापूर्वक अघि बढ्न आग्रह गर्यो। 'निर्वाचन घोषणा भएको छ अब यसलाई टार्ने र सार्ने काम नहुँदासम्म एमालेको बलियो साथ रहन्छ,' बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, 'हामीले प्रधानमन्त्रीज्यूसँग पनि यही कुरा राखेका छौ।'