PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​चुनाव घोषणाको विरोधमा मधेसमा बल्यो मसाल



राधेश्याम पटेल

​चुनाव घोषणाको विरोधमा मधेसमा बल्यो मसाल

वीरगन्ज :  संविधान संशोधन नगरी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणाको विरोधमा मधेसका विभिन्न जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ। मोर्चाले भोलि बुधवार एक दिने मधेस बन्दको घोषणा पनि गरिसकेको छ।

साँझ ६ बजेदेखि वीरगञ्जको घण्टाघरबाट शुरु भएको मसाल जुलुश आदर्शनगर चोक, होटल कैलाश चोक, घडिअर्वा पोखरी चोक हुँदै पुनः घण्टाघरमा कोण सभामा परिणत भएको थियो।

जुलुसमा मधेसी एकता जिन्दावाद, प्रचण्ड सरकार मुर्दाबाद, एमाले,कांग्रेस मुर्दावाद ,वीर शहीद जिन्दावाद लगायतका नारा लगाइएको थियो।

जुलुसपछि आयोजित कोणसभामा वक्ताहरुले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले अहिले आएर मोर्चाको सहमति बेगर चुनावको मिति घोषणा गरेर मधेसी दललाई धोका दिएको आरोप लगाए। कोणसभामा संघीय समाजवादी फोरम नेपालका वीरेन्द्र यादव, नेपाल सदभावना पार्टीका कृष्ण पटेल, सदभावना पार्टीका धर्मेन्द पटेल र महिला नेतृ मालती कुशवाहा, राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रेमबाबु पटेल, तराई मधेस लोकतान्त्रिक पार्टीका जटाशंकर तिवारीलगायतले सम्बोधन गरेका थिए।

संविधान संशोधन बिना कुनै पनि हालतमा मधेसमा चुनाव हुन नदिने उनीहरु बताउँछन्। 

सोमबार राति सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। 

मोर्चाले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १५ दिनसम्म गाउँगाउँमा भन्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ।  

स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक प्रतिवेदनका आधारमा घोषणा गरिएको निर्वाचन मान्य नहुने मोर्चाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell