
काठमाडौं : नेपाली सेनाका पृतनापतिहरुले स्थानिय तह निर्वाचनको विपक्षमा उभिएको मधेसी मोर्चाको आन्दोलनलाई संवेदनशिल रुपमा समिक्षा र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
सरकारले स्थानीय तह निर्वाचन मिति तोकेको दोस्रो दिन बसेको पृतनापति समन्वयात्मक बैठकमा आ-आफ्नो प्रस्तुती दिनेक्रममा उनीहरुले निर्वाचनको घोषणा सकारात्मक रहे पनि मोर्चा आन्दोलनमा उत्रिनु चुनौतिपूर्ण रहेको विश्लेषण गरेका थिए।
मंगलबार जङ्गी अड्डामा भएको एक दिने पृतनापति समन्वयात्मक बैठकमा उपत्यकासिहत छ जना पृतनापतिहरुले आ-आफ्नो प्रस्तुती दिएका थिए। पृतनापति भेला नियमित भए पनि संयोगबश यो वर्ष निर्वाचन मिति घोषणाको दोस्रो दिन परेको छ।
रक्षा सचिव श्री श्रीधर सापकोटा,प्रधान सेनापति राजेन्द्र क्षत्री, बलाधिकृत रथी बलदेवराज महत लगायत सहभागी बैठकमा उनीहरुले मोर्चाको आन्दोलन संविधान जारी भएपछिको अवस्थासम्म पुग्नबाट रोक्न संवेदनशिल हुनुपर्नेमा जोड दिएका थिए।
सम्बन्धित विभागहरुबाट वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत गर्नेक्रममा चुनाव गराउन मुख्य चुनौती मधेसनै रहेको भेलाको निष्कर्ष रहेको सहभागीस्रोतले बतायो। दोस्रो संविधान सभा निर्वाचनमाझै स्थानीय तह निर्वाचनमा समेत सरकारले सेनाको सहयोग माग्नसक्ने भएकाले तयारी अवस्थामा रहनुपर्ने विषयमा समेत भेलामा छलफल भएको थियो।