
काठमाडौं : कार्यसूची विवादका कारण मंगलबार सूचना टाँसेर स्थगित गरिएको व्यवस्थापिका संसद्को बैठक आज पुनः बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउसो २ बजेका लागि बैठक बोलाइएको छ।
संसद् बैठकअघि दिउसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिले संसद्को आजको कार्यसूची तय गर्नेछ।
दलीय सहमति भएमा संविधान संशोधन प्रस्तावको सैदान्तिक छलफल अघि बढाउने सरकारको तयारी छ। प्रतिपक्ष दल एमालेको विरोध कायम रहेमा सैदान्तिक छलफलका लागि प्रस्ताव टेवल गर्नेसम्मको रणनीतिमा सरकार छ।
सैदान्तिक छलफलको प्रक्रिया सुरु नभए पनि प्रस्ताव टेवलसम्मका लागि प्रतिपक्ष दल एमाले लचक हुने संकत मंगलबारको सर्वदलीय बैठकमा गरेको छ। विधेयक छलफलका लागि टेवल भए विधेयकको प्रक्रिया अघि बढ्नेछ।
प्रमुख राजनीतिक दलहरुसहितको सर्वदलीय बैठकमा पनि मंगलबार संशोधन प्रस्तावको प्रक्रियामा सहमति जुट्न सकेन। एमालेले यथास्थितीमा प्रस्ताव अघि बढाउन नसकिने बताएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने बुधबारदेखि प्रक्रिया अघि बढ्ने बताएका छन्।