PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

दोस्रो जितका साथ सेमिफाइनल पुग्ने मनाङको लक्ष्य



पहिलोपोस्ट

दोस्रो जितका साथ सेमिफाइनल पुग्ने मनाङको लक्ष्य

चितगोङ : शेख कमाल इन्टरनेशनल क्लब कप-२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्दैछ।

समूह बी को पहिलो खेलमा बगलादेशङ्कव मोहमेदन स्पोर्टिङ क्लबलाई परिजत गरेको मनाङ लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छ।

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेपछि चितगोङस्थित एमए अजिज रंगशालामा हुनेछ।

मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई २-० ले पराजित गरेको थियो भने शाहिन आस्मयी पहिलो खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग ३-१ ले पराजित भएको थियो।

आजै समुह ‘बी’ को दोस्रो खेलमा चितगोङ अवहनी लिमिटेड र मोहमोदेन स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङले लगातार दोस्रो जित निकाले एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्नेछ भने खेल बराबरीमा रोकिए वा पराजित भए सेमिफाइनल प्रवेशका लागि दोस्रो खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अफगानिस्तानको शाहिन आस्मयीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन्। ‘पहिलो खेलमा पराजित भएको आस्मायी अर्को चरण प्रवेशका लागि ‘गर या मर’ को अवस्थामा छ।

हामीलाई पनि सेमिफाइनलमा प्रवेशका लागि जित्नै पर्ने दबाव छ।’ प्रशिक्षक लोप्साङले भने, ‘हाम्रो खेलाडीहरुले पाएको मौका सदुपयोग गर्दै आस्मायीलाई पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाउनेछौं।’

यस्तै प्रशिक्षक लोप्साङले आस्मायीविरुद्धको खेलमा केही खेलाडी परिवर्तन हुने बताएको छ। मोहमोदेनविरुद्धको खेलमा दोस्रो हाफमा ओगाविमिरो ओलासेमि साम्सोनको स्थानमा मैदान छिरेका विक्रम लामा बुधबार पहिलो रोजाइँमै खेल्ने पक्का छ।
मिडफिल्डमा पनि निराजन मल्ल र डोना थापाले खेल्ने सम्भावना बढी छ।

गोलरक्षक र डिफेन्स लाइनमा कुनै पनि खेलाडी परिवर्तन नहुने र खेल रणनीतिमा परिवर्तन हुने प्रशिक्षक गुरुङले बताए। विपक्षी टिमको मिडफिल्ड र स्ट्राइकिङ पक्ष बलियो रहेको तर डिफेन्समा रहेको कमजोरीलाई चिर्ने प्रशिक्षक लोप्साङले बताए।

यस्तै कप्तान अनिल गुरुङले दोस्रो खेलको लागि टिम तयार रहेको बताए। ‘पहिलो खेल जितेको हौसलाका साथै प्रशिक्षण पनि राम्रै भएको छ, आशा छ बुधबार सकरात्मक नतिजा निस्कनेछ।’ कप्तान गुरुङले भने, ‘दोस्रो खेल पनि जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउनेछौं।’
नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ। समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ। प्रतियोगिता मार्च २ गतेसम्म चल्नेछ।

नेपाली राष्ट्रिय टिमका गोलरक्षक सम्मिलित माल्दिभ्सको टीसी स्पोर्टस् समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सोमबार भएको समूह चरणको दोस्रो खेलमा किर्गिस्तानको एफसी आल्गालाई २–१ ले पराजित गरेपछि टिसी स्पोर्टस् एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको हो। टीसी स्पोर्टस्ले समूह विजेता बन्नका लागि बिहिबार दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell