काठमाडौँ : संसद्मा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लचक देखिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ। संसद् भवन बानेश्वरमा बस्ने बैठकमा संसद्को प्रक्रिया र निर्वाचन घोषणापछिको राजनीतिक परिस्थितिबारे अध्यक्ष केपी ओलीले धारणा राख्ने कार्यक्रम छ। 'निर्वाचनको मिति घोषणा भएपछि अब हाम्रो भूमिका कस्तो हुने भन्ने विषयमा बैठक डाकेका हौँ', एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने।
त्यस्तै एमाले संसदीय बैठक लगत्तै प्रतिपक्षी ९ दलीय गठबन्धनको पनि बैठक बस्दैछ। गठबन्धनमा नेकपा एमाले, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्त्रिक) नेपाल, बहजुन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपाल रहेका छन्।
गत मंसिर १४ गते संसद्मा टेबल भएको प्रस्ताव राष्ट्रघाती रहेको भन्दै एमालेले संसदमा छलफलको विषय हुन नसक्ने बताउँदै आएको थियो। तर गत २४ पुसमा होहल्लाबीच सरकारले संसदमा प्रस्ताव टेबल गरेको थियो। तर एमालेको विरोधका कारण सरकारले सैद्धान्तिक छलफल अगाडि बढाएको थिएन भने संसद्को कार्यसूचीमा समेत राखेको थिएन।
सोमबारको मन्त्रिपरिषद् बैठकपछि सोमबारको कार्यसूचीमा संशोधनको प्रस्ताव सभामुखले राखेकी थिइन्। तर कार्यसूची वितरण गर्नुअघि नै संसद बैठक सूचना टाँसमार्फत स्थगित भएको थियो।
आज संसद् बैठक २ बजे बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको सर्वदलीय बैठकपछि आजदेखि संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्ने बताएका थिए।