काठमाडौँ : निर्वाचन आयोगले फागुन ९ गते १८ वर्ष पुगेका बालिगहरुलाई मात्र स्थानीय निर्वाचनमा सहभागी गराउने निर्णय गरेको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो।
'आसन्न स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाता नामावली तयार गर्न मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश (२) बमोजिम निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनको लागि नाम दर्ता नगरिने हुँदा मिति २०७३/११/१० गतेबाट सबै स्थानमा सञ्चालन गरिएको मतदाता नाम दर्ता कार्य स्थगित गर्ने तथा बाहिरी जिल्लाको दर्ता कार्यसमेत स्थगित गर्ने निर्णय गरेको छ,' आयोगको निर्णयमा भनिएको छ, 'साथै, स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको मिति २०७३/११/०९ लाई नै मतदाता नामावली ऐन, २०७३ को दफा ६(ख) बमोजिम मतदाताको उमेर १८ (अठार) वर्ष पूरा भएको मिति मानी अन्तिम मतदाता नामावली तयार गर्न समेत निर्णय भएको छ।'
आयोगले गत कार्तिक १ देखि निर्वाचन घोषणा भएको मिति २०७३/११/०९ सम्म दर्ता भएको मतदाता नामावलीलाई मतदाता नामावली अध्यावधिक गर्न आगामी १७ देखि २१ सम्मको अवधि तोकेको छ। अध्यावधिक भएको नामावली अन्तिम मतदाता नामावलीमा समावेश गर्ने समेत आयोगको निर्णय छ।
आयोगको हिजो बसेको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूको सहभागिताको सुनिश्चितताका लागि राजनीतिक दल दर्ता तथा व्यवस्थापन गर्न राजनीतिक दलसम्बन्धी कानुन अपरिहार्य भएको भन्दै राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ को मसौदालाई ऐनको रूपमा पारित गराउन गृह मन्त्रालयमा लेखी पठाउने निर्णयसमेत गरेको छ।